काठमाडौं । काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई लक्षित गर्दै घरमै स्वास्थ्य तथा परामर्श सेवा उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार नगरसभाको १९औँ अधिवेशन बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले जेष्ठ तथा अशक्त नागरिकसँग महानगर कार्यक्रम सञ्चालन गरिने बताइन्।
उनका अनुसार उक्त कार्यक्रममार्फत ज्येष्ठ तथा अशक्त नागरिकलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ। साथै ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराइनेछ ।
उनले भनिन्,‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर कार्यक्रम सञ्चालनगरी ज्येष्ठ तथा अशक्त नागरिकको घरमै स्वास्थ्य तथा परामर्श सेवा निशुल्क उपलब्ध गाराइनेछ । ७५ वर्ष पूरा भएका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त आपाङ्गता भएका महानगरबासीहरुलाई पोषण भत्ता उपलब्ध गराइने छ ।’
महानगरले हाल सञ्चालनमा रहेको ‘एक वडा, एक नमुना कार्यक्रम’लाई थप प्रभावकारी र दिगो बनाउने लक्ष्यसहित संस्थागत गर्ने नीति पनि लिएको छ । यस कार्यक्रममार्फत प्रत्येक वडाको आवश्यकता र विशेषता अनुसार नमुना योजना कार्यान्वयन गरिने महानगरको भनाइ छ ।
‘एक वडा एक नमुना कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा दिगोपन सुनिश्चित हुनेगरी यस कार्यक्रमलाई संस्थागत गरिने छ,’उनले भनिन् ।
महानगरले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममार्फत सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र स्थानीय विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।
त्यस्तै महानगरले युवा केन्द्रित स्वरोजगार कार्यक्रम, उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बताएको छ । त्यस्तै नीति तथा कार्यक्रममा जेनजेड र जेन अल्फा विशेष कार्यक्रम सञ्चालन गर्ने पनि घोषणा गरिएको छ ।
नवयुवा पुस्तालाई सुशासनका संवाहक मानी उनीरुको सुझाव तथा आवश्यकतामा सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै महानगरपालिकाले सम्पादन गर्ने कार्य सम्बद्ध विषय क्षेत्रमा विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ‘सिक्दै जाँदा कमाउनुहोस्’ अवधारणा अनुसार इन्टर्नसिप, फेलोसिप तथा ‘पार्ट टाइम इन्गेजमेन्ट’ कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।
त्यसैगरी स्थानीय विवाद समाधानमा मेलमिलाप प्रक्रियालाई प्राथमिकता दिई न्याय निरुपण कार्यलाई छिटो, छरितो र पहुँचयोग्य बनाउने, शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीहरुलाई पूर्णतः निषेध गर्ने, शहरी सुव्यवस्थापनका लागि महानगर प्रहरी बलको परिचालन गर्ने, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकाय, समुदाय र सम्बद्ध संघसंस्थाहरु समेतको सहकार्य र समन्वयलाई प्रवद्र्धन गर्ने जस्ता कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

प्रतिक्रिया