चार दिने चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनाल बेइजिङमा


काठमाडौँ । चीनको चार दिवसीय भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार मध्यान्ह बेइजिङ पुगेका छन् । बेइजिङ पुग्दा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका एक अधिकारीहरूले स्वागत गरेका थिए ।

बेइजिङमा परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसहित चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने तालिका छ । मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ एक स्वागत समारोह आयोजना गर्दैछ ।

त्यहाँ परराष्ट्रमन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया समेत गर्ने कार्यक्रम छ। मुलुकमा वैदेशिक लगानी भित्राउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने छन् ।