काठमाडौं । नेपाली कांग्रेसले आन्तरिक एकताका लागि संस्थापन पक्षले इतर समूहलाई सात बुँदे सहमति प्रस्ताव पठाएको छ । पार्टीमा विभिन्न कालखण्डमा विविध प्रकृतिका विवाद र फरक मत प्रकट हुँदै आएको उल्लेख गर्दै भिन्न मतहरु सुरक्षित गर्दै अभिन्न रहेर अघि बढ्न प्रतिबद्ध रहेको सभापति गगन थापाले प्रस्तावमा उल्लेख गरेका छन् । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का सहित थप पाँच जना नेताहरुलाई पठाइएको सात बुँदे प्रस्तावका विषयहरु यसअघि सार्वजनिक गरिएको थिएन ।
सार्वजनिक नगरी आन्तरिक राखिएको यस्तो थियो जेठ १६ मा पठाइएको परिमार्जित ७ बुँदे प्रस्ताव :
विभिन्न कालखण्डमा विविध प्रकृतिका विवाद र फरक मत नेपाली काँग्रेस पार्टीभित्र प्रकट हुँदै आएका छन् । विभिन्न मतहरु सुरक्षित गर्दै अभिन्न रहेर अघि बढ्ने नेपाली काँग्रेसको परम्परा दृस्टिगतगर्दै अघिबढ्न हामी प्रतिबद्ध छौँ । विशेष महाधिवेशन पश्चात् उत्पन्न परिस्थिति र अबको बाटोका सन्दर्भमा )
१) विधानको १७(२) बमोजिम सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगले गरेको अधावधिक अनि सम्मानित सर्वोच्च अदालतले अन्तिम छिनोफानो गरिसकेको यथार्थ आत्मसात गर्दै विमतिका सबै बिषय बिर्सिएर एकताबद्ध भएर अघि बढ्ने । तर विशेष अधिवेशनको प्रक्रिया र परिणाम उपरको विमतीलाई आफ्नो राजनैतिक एजेन्डाका रूपमा १५ औं महाधिवेशनको बन्दसत्रमा मौखिक / लिखित दुवै रूपमा प्रस्तुत गर्न सकिने ।
विशेष महाधिवेशनमा सहभागी रहेको या नरहेको आधारमा पार्टीका कुनैपनि सदस्यलाई फरक कोणबाट नहेर्ने, फरक ब्यवहार नगर्ने ।
२) महाधिवेशन तयारी क्रमको पहिलो चरण कृयाशिल सदस्यता अधावधिक गर्ने प्रक्रियालाई निर्धारित समयभित्र पूरा गर्ने । (पार्टी विधानमा विगतदेखिनै रहेकोे यस सम्बन्धि व्यवस्थाबारे रहेका अस्पष्टतालाई स्पष्ट गरेर अघि बढ्ने)
३) पार्टीमा लामो समय योगदान गर्नुभएका अग्रज नेताहरू मध्येबाट केही अग्रजलाई केन्द्रीय समितिमा वरिष्ठ नेताका रूपमा सम्मानित भूमिकामा स्थापित गर्ने ।
४) विगतमा केन्द्रीय समितिमा रहेका र नरहेका साथीहरू मध्येबाट जिम्मेवारी निर्वाह गर्न इच्छुक साथीहरूलाई केन्द्रीय समितिमा निश्चित संख्यामा सम्मानपूर्वक जिम्मेवारी प्रदान गर्ने । कार्यसम्पादन समितिमा सम्मानजनक सहभागिता रहने । ( तर महाधिवेशनमा स्वतः भाग लिन पाइने परम्परा अन्त्य गरि, केन्द्रीय समितिमा रहेका सबैले वडा तहबाट नै प्रतिनिधि बनेर अनिवार्य आउनुपर्ने )
५) पन्ध्रौं महाधिवेशन गराउने निर्वाचन समिति, अनुशासन समिति र कृयाशिल सदस्यता व्यवस्थापन समितिमा सम्मानजनक सहभागिता र सहकार्य गर्ने ।
६) केन्द्रीय समितिको अंग रहनेगरी बैठकबाट १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने ।
७) भातृ र शुभेच्छुक संस्थाहरुको केन्द्रीय समितिमा कार्य गर्न इच्छुक साथीहरूलाई सभापतिनै अथवा पदाधिकारी या उहाँहरुको चाहना र योग्यता अनुरुपको जिम्मेवारी प्रदान गर्ने ।
नोट: १६ जेठमा पठाएको ७ बुँदा १६ दिनसम्म जवाफ नआएपछि जेठ ३१ गते सार्वजनिक

प्रतिक्रिया