व्यक्ति केन्द्रित राजनीति र अन्धभक्ति


काठमाडौँ । श्रम संस्कृति पार्टीका सचिव टीकाराम राईले व्यक्ति केन्द्रित र अन्धभक्त समर्थन नेपाली राजनीतिमा समस्याकोरुपमा देखापरेको बताएका छन् ।

सामाजिक संजालमार्फत राईले सत्ता, पद वा लोकप्रियताको नाममा नेताहरूलाई आलोचनाभन्दा माथि राख्ने संस्कार विकसित हुँदै गएको बताएका हुन् ।

उनले भनेका छन्, ‘नेपालको राजनीतिमा एउटा खतरनाक प्रवृत्ति बढ्दै गएको छ-व्यक्ति केन्द्रित राजनीति र अन्धभक्ति। सत्ता, पद वा लोकप्रियताको नाममा नेताहरूलाई आलोचनाभन्दा माथि राख्ने संस्कार विकसित हुँदैछ। हिजो राष्ट्रवादको नाममा केपी ओलीलाई प्रश्नभन्दा माथि राख्ने प्रयास भयो भने आज सुशासन र डेलिभरीको नाममा बालेनलाई आलोचनाभन्दा माथि राख्ने प्रवृत्ति देखिँदैछ। जब नेता भन्दा संस्था कमजोर बन्छन्, तब लोकतन्त्र कमजोर हुन्छ। हिजो ‘आई लभ यू केपी बा’ भन्ने अन्धभक्तहरूले आलोचनालाई देशद्रोह देखे। आज ‘पुराना दलहरू खत्तम’ भन्ने अर्धबुझक्कड मानसिकताले बालेनको हरेक कदमलाई सही ठहर्याउने प्रयास गरिरहेका छन् ।’

उनले आलोचनालाई शत्रुताका रूपमा हेरिँदा लोकतन्त्रको आत्मा कमजोर हुने बताएका छन् । उनले भनेका छन्, ‘सर्वसत्तावाद नेताहरूले मात्र लाद्दैनन्, त्यसलाई वैधता दिने अन्ध समर्थकहरूले पनि निर्माण गर्छन्। पार्टीभित्र होस् वा राज्यसत्तामा, जब प्रश्न गर्ने ठाउँ साँघुरो बनाइन्छ र आलोचनालाई शत्रुताका रूपमा हेरिन्छ, तब लोकतन्त्रको आत्मा कमजोर हुन थाल्छ । हामीलाई नेता होइन, संस्था बलियो बनाउने राजनीति चाहिएको छ। कुनै पनि नेता, चाहे ओली हुन् वा बालेन, आलोचनाभन्दा माथि हुन सक्दैनन्। लोकतन्त्रको आधार अन्धभक्ति होइन, प्रश्न, बहस र जवाफदेहिता हो।’

उनले नेतालाई देवत्वकरण गर्ने पवृत्ति त्याग्न सुझावसमेत दिएका छन् । उनले भनेका छन्, ‘नेतालाई देवत्वकरण गर्ने होइन, लोकतान्त्रिक मूल्य र संस्थाहरूलाई सुदृढ बनाउने संस्कार विकास गरौं । किनकी अन्धभक्तहरूले अन्ततः लोकतान्त्रिक नेता होइन, सर्वसत्तावादी प्रवृत्तिलाई नै बलियो बनाउँछन्।’