सुशासनको नारा लगाउने सरकार प्रश्न उठेका आफ्नालाई पुरस्कृत गर्ने ध्याउन्नमा लाग्योः सांसद खड्का


काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सरकारले सुशासनको नारासँग मेल नखाने काम गरेको आरोप लगाएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद खड्काले गृहमन्त्रीमाथि प्रश्न उठेपछि छानबिन समिति गठन गरिएको स्मरण गराउँदै उक्त समितिको प्रतिवेदन सार्वजनिक नगरी सम्बन्धित व्यक्तिलाई पुनः गृहमन्त्री बनाइएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘माननीय गृहमन्त्रीज्यूमा प्रश्न उठेपछि छलछाम समिति बनाइयो । सुनिन्छ, समितिले चोख्याएर प्रतिवेदन बुझायो रे, उक्त प्रतिवेदन सार्वजनिक नगरी उहाँलाई पुनः गृहमन्त्री बनाइयो ।’

उनले छानबिन समितिले प्रतिवेदन बुझाइसकेको चर्चा भएपनि त्यसलाई सार्वजनिक नगरिएको उल्लेख गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए । खड्काले एकातिर सुशासनको नारा लगाउने र अर्कोतर्फ विवादमा परेकाहरूलाई नै जिम्मेवारी दिने काम भइरहेको टिप्पणी गरे ।

उनले भने, ‘एकातिर सुशासनको नारा लगाउने तर अर्कोतिर प्रश्न उठेका आफ्नोलाई पुरस्कृत गर्ने काम भइरहेको छ । सरकार आफैँ धामी, आफैँ पुरस्कृत गर्दै हिँड्ने भयो । क्रमभंगता र सुशासनको गफ हाक्न छोडौँ ।’

सांसद खड्काले सरकारले सुशासन र पारदर्शिताप्रति प्रतिबद्ध रहेको दाबी गरे पनि व्यवहारमा त्यसअनुसार काम नगरेको आरोप लगाए ।
उनले सरकार आफैं न्यायाधीश र आफैं पुरस्कार दिने भूमिकामा देखिएको भन्दै सुशासनका विषयमा केवल भाषणभन्दा व्यवहारमा सुधार आवश्यक रहेको बताए ।