काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलियाले प्रधानमन्त्री बालेन साहले नेपालले भारतको भूमि मिचेको भन्दै दिएको अभिव्यक्तिप्रति लक्षित गरी संसदमा कविता वाचन गरेकी छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद थपलियाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लक्षित गर्दै कविता सुनाएकी हुन् । उनले बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्त नबुझेको भन्दैे कविता सुनाएकी हुन् ।
कविताः देश बिर्सिएको दिन
तिमीले देश बनाउँछु भन्यौ
म ढुक्क थिएँ
तर एकाएक
तिम्रो बोलीको प्रतिध्वनि पनि नमेटिँदै
आफ्नै आमाको
अस्मितामाथि औँला उठायौ !
माटो छोएर कसम खायौ
तर
त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ
अनि आमाको महिमा गाइरह्यौ
तर सन्तान हुनुको कर्तव्य भुल्यौ
काख र कोखको माया बिर्सियौ !
त्यसैले आज म ढुक्क होइन
मेरो मन देशको चिन्ताले
ढुकढुक भैरहेको छ । ।
स्वार्थले प्रेरित भएपछि
सायद धेरै कुरा बिर्सन सकौला
तर नबिर्स
तिमीमाथि असीम भरोसा बोकेर
मतको भारी बिसाउने जनतालाई नबिर्स
जनता उभिएको माटोलाई नबिर्स
तिमीलाई आशिष दिने
ति बा–आमालाई नबिर्स ! ! !
यसरी बिर्सने सिलसिला बढ्दै गयो भने
एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौ
र जुन दिन देश बिर्सिन्छौ
त्यो दिन
तिमी कसको शासक बन्नेछौ ?
भन
त्यो दिन तिमी
कसको शासक बन्नेछौ?

प्रतिक्रिया