सरकार चलाउने भनेको पार्टीको विधानले होइन, देशको विधानले हो, हामी हेरिरहेका छौँः सभापति थापा


गोरखा । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरु सम्पत्ति छानबिनका लागि तयार रहेको र सरकारमा रहेकाहरूले पनि आफ्नो सम्पत्तिको स्रोत देखाउनुपर्ने बताएका छन् ।

मंगलबार गोरखामा आयोजित कार्यक्रममा सभपाति थापाले आफूहरु सम्पत्ति छानबिनका लागि तयार रहेको र सरकारमा रहेकाहरुले पनि सम्पत्तिको श्रोत देखाउन हिम्मत गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामी जसरी हिम्मत गरिरहेका छौँ, तपाईँहरू प्रधानमन्त्री, मन्त्री बन्नुभएको छ, त्यो प्रधानमन्त्री मन्त्री बन्दै गर्दा जुन तपाईँले आफ्नो सम्पत्ति देखाउनु भएको छ, कोही भर्खरका नौजवान साथीहरू हुनुहोला । तर नागरिकको स्तरमा यो उमेरमा तपाईँहरूसँग यति धेरै सम्पत्ति कहाँबाट आएछ भनेर सोध्दै गर्दा वैध स्रोत देखाउन सक्नुहुन्छ? त्यो साहस तपाईँहरूसँग छ कि छैन?’

उनले पूर्वगृहमन्त्री सुदन गुरुङमाथि सरकारले गरेको छानबिनप्रति आशंका व्यक्त गरे । उनले ‘अहिले तपाईँहरूकै जिल्लाको देखाएको जस्तो झाँक्री पनि आफैँ बोक्सी पनि आफैँ । यस्तो झन्झट किन गरिराखेको ? पहिल्यै होइन भन्देको भए भइहाल्यो ।’

उनले रास्वपाको सरकार पार्टीको विधानले नभई देशको विधानले चल्नुपर्ने बताए । उनले भने, ‘पाँच बर्ष उहाँहरुले सरकार चलाउन पाउनुभएको छ, उहाँहरुले सरकार चलाउनुहुन्छ । तर सरकार चलाउने भनेको पार्टीको विधानले होइन, देशको विधानले हो, देशको संविधानले सरकार चल्छ ।’ सभापति थापाले राम्रो काममा सहयोग र गलत गर्दा प्रश्न गर्ने कांग्रेसको जिम्मेवारी रहेको बताए ।