दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन् । रास्वपा तनहुँ जिल्ला समितिको आइतबार आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले देशको ठूलो शक्ति रास्वपामाथि जनताको आशा र भरोसा रहेकाले यो पार्टीलाई असफल हुने छुट नरहेको उल्लेख गरे ।
न्यौपानेले विगतका सरकार आफ्नै झगडाबाट अपदस्थ भएको चर्चा गर्दै करिब दुई तिहाइ नजिक रहेको वर्तमान सरकारलाई अन्य शक्तिबाट भन्दा आफ्नैबाट खतरा रहेको बताए ।
उनले भने, ‘बाहिरको सङ्ख्या अत्यन्तै न्यून छ, रास्वपाको सङ्ख्या बढ्दो छ । अन्य पार्टीबाट रास्वपामा आएकाले विगतको स्कुलिङ त्याग्नुपर्छ । राणातन्त्र, राजतन्त्रको अन्त्य पनि आफ्नैभित्रको कारणले भएको हो । पुराना दल पनि चकनाचुर भएका आफ्नै पार्टीभित्रको द्वन्द्वले हो ।’
देश परिवर्तन गर्ने सङ्कल्प बोकेर जन्मिएको रास्वपालाई बलियो शक्तिका रूपमा विकास गर्दै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै उनले पार्टीभित्र सहमति र सहकार्यलाई सधैँ निरन्तरता दिनुपर्ने चर्चा गरे ।
सांसद न्यौपानेले जुन आशा, भरोसाका कारण रास्वपालाई करिब ५२ लाख मत प्राप्त भएको छ विगतबाट पाठ सिकेर अगाडि बढ्दै जनताको भरोसालाई गन्तव्यसम्म पुर्याउनुपर्ने बताए । रास्वपा गण्डकी प्रदेशका प्रवक्ता शङ्कर पन्तले पार्टीमा को पहिला आयो, को पछि आयो भन्ने कुरा ठूलो नभएको भन्दै सङ्गठनलाई बलियो बनाउनु अहिलेको प्रमुख माग रहेको बताए ।
कार्यक्रममा रास्वपा तनहुँका संस्थापक सभापति विकास सिग्देल, क्षेत्र नम्बर २ का संयोजक सुन्दर बस्याल, १ का सचिव शशी रूपाखेती, व्यास नगर सभापति चुडामणि दाहाल, शुक्लागण्डकी नगर सभापति हरिबहादुर खड्कालगायतले पार्टीभित्र एकता र सहकार्यको आवश्यकता औँल्लाए ।

प्रतिक्रिया