परराष्ट्रमन्त्री खनालको भारत भ्रमणको तालिका सार्वजनिक


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबारदेखि तीन दिने औपचारिक भारत भ्रमण जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी मन्त्री खनालको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो । भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको सौहार्दपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणमा जान लागेका हुन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन् । बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विशेषगरी दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा क्षेत्र र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विस्तृत विचार–विमर्श हुने कार्यसूची रहेको छ ।

नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको रूपमा हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको कूटनीतिक, ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ ।