काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै ढङ्गले पार्टी चल्न नसक्ने बताएका छन् । बुधबार पार्टीको केन्द्रीय संगठन विभागद्वारा आयोजित सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशालामा सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले अध्यक्ष केपी ओलीकै सामु पार्टी पुनर्गठनको विकल्प नभएको बताएका हुन् ।
उनले पार्टीको सङ्गठनात्मक जीवनलाई पुनर्गठन गर्नुपर्ने बताए । उनले भने, ‘यही रूपमा यस्तै ढङ्गले हाम्रो पार्टी अगाडि बढ्न सक्दैन भन्ने निष्कर्ष निकालेका छौँ । पार्टीको सङ्गठनात्मक जीवनलाई पनि पुनर्गठन गर्नेछौँ । सचिवालय बैठकले निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्ने, पुनर्गठनसम्बन्धी प्रस्ताव तयार गर्ने कार्यदल निर्माण गरेको छ ।’
उनले कार्यदलको प्रस्ताव अनुसार सचिवालय र केन्द्रीय कमिटीमा थप छलफल गरेर पुनर्गठनबारे निर्णय लिने बताए । उनले पार्टी सदस्यताको विषय कम्युनिस्ट पार्टी निर्माणको आधारभूत र निर्णायक पक्ष भएको बताए ।
उनले पार्टीको प्रगति सदस्यहरूको वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन, सक्रियता र लक्ष्यप्रतिको समर्पणमा निर्भर रहने बताएका हुन् । सदस्यताको गुणस्तरमा कमजोरी आए पार्टीको आकार ठूलो भए पनि अपेक्षित नतिजा प्राप्त गर्न नसकिने उनको भनाइ थियो ।
पौडेलले कम्युनिस्ट आन्दोलनमा पार्टी सदस्यतालाई अत्यन्त महत्वका साथ हेरिने परम्परा रहेको बताउँदै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका क्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिएका व्यक्तिहरूले समेत सदस्यता प्राप्त गर्न नसकेका उदाहरणहरू रहेको स्मरण गराए ।
उनले भने, ‘पार्टी सदस्यता प्राप्त गर्ने विषयलाई कम्युनिस्ट पार्टीमा सर्वाधिक महत्वको विषय मानिन्छ । दुनियाँमा यस प्रकारका अनुभवहरु छन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा यस प्रकारका अनुभवहरु पनि छन् कि विभिन्न विधामा अत्यन्त प्रशंसनिय र उच्च महत्वको योगदान गरेका व्यक्तिहरुले पार्टी सदस्यता चाहँदा प्राप्त गर्न नसकेका अनुभवहरु पनि छन् । यसकारण हामीले पार्टी सदस्यताको प्रश्नलाई अत्यन्तै महत्वको पार्टी निर्माणको आधारभूत र निर्णयक महत्वको विषय हो भन्ने कुरा हामीले मान्दै आइरहेका छौं ।’
पार्टी सदस्यलाई विचार र राजनीतिसँग जोडेर मात्रै संगठन निर्माणलाई हेर्नुपर्ने उनको भनाइ थियो । उनले पार्टी निर्माण, विचार–सिद्धान्त तथा पार्टीका मूल्य–मान्यता एकअर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै सदस्यता विस्तार र नवीकरणको प्रक्रियामा यी पक्षलाई विशेष ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया