काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद राईले प्रधानमन्त्रीले नेपालले पनि भारतको केही भूभाग मिचेको भन्ने अभिव्यक्ति दिएको विषयले आफू मात्र नभई सम्पूर्ण नेपाली नागरिकको शिर निहुरिएको महसुस भएको बताए ।
उनले भने, ‘आज यो संसदमा उभिँदा मेरो शिर निहुरिएको महशुस भएको छ । हिजो मात्र यो गरिमामय सदनको रोष्टममा उभिएर प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले मलाई मात्र होइन करिब तीन करोड आम नेपाली नागरिकको शिर निहुरिएको हुनुपर्छ ।’
उनले प्रधानमन्त्रीले संसदको रोष्ट्रममा उभिएर दिएको उक्त अभिव्यक्ति संसदको अभिलेखमा दर्ज भइसकेको र नजिरका रूपमा स्थापित भएको उल्लेख गरे । प्रधानमन्त्रीको भनाइप्रति सत्तापक्षका सांसदहरूले ताली बजाएकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘रोष्ट्रममा उभिएर प्रधानमन्त्रीज्यूले भन्नुभयो नेपालले पनि भारतको पनि जग्गा मिचेको छ, यो संसदमा रेर्कड भएको छ । यो अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ । जसमा बडो गर्वका साथ सत्तापक्षका माननीयज्यूहरुले बर्वर ताली पड्काउनुभयो । उहाँहरुलाई पनि मेरो प्रश्न छ अलिकति आत्माग्लानी यहाँहरुलाई पनि हुनुपर्छ ।’
सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफ्नो ‘नोट अफ डिसेन्ट’ रहेको जनाउँदै नेपालले भारतको कुन–कुन क्षेत्रमा सीमा मिचेको हो भन्नेबारे संसदमै एक–एक इन्चको हिसाब दिन प्रधानमन्त्रीलाई चुनौती दिए ।
उनले भने, ‘सार्वभौम संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले बोलेको विषयमा हाम्रो नोट अफ डिसेन्ट छ । फेरि यहीं संसदको रोष्ट्रममा उभिनुपर्छ र नेपालले कहाँ कहाँ भारतको सिमा मिचेको छ भनेर एक एक इन्चको हिसाब हामीलाई दिनुपर्छ । हामीलाई हिसाब चाहिन्छ । यो राष्ट्रिय स्वाभिमानको र सुरक्षाको विषय हो । भोली भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने कुन जग्गा फिर्ता दिने ? प्रधानमन्त्रीको अभिव्यक्ति बचाउन परराष्ट्र मन्त्रालय यस विषयलाई क्रस बोर्डरसँग सम्बन्धित छ भनेर भनिरहेको छ । जमिन मिचेको विषय कसरी क्रस बोडर अकुपेशन हुन्छ ? यति सामान्य ज्ञान त परराष्ट्रमन्त्रीज्यूलाई हुनुपर्ने हो । रोष्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रहित विपरित छ ।’
उनले भविष्यमा भारतले नेपालले मिचेको भनिएको भूमि फिर्ता मागे नेपालले कुन भूभाग फिर्ता दिने भन्ने प्रश्नसमेत उठाए ।
प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्दै परराष्ट्र मन्त्रालयले यसलाई ‘क्रस बोर्डर’ विषयसँग जोडेर व्याख्या गरिरहेको भन्दै राईले आलोचना गरे ।
‘जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेशन हुन्छ ? यति सामान्य ज्ञान त परराष्ट्रमन्त्रीलाई हुनुपर्ने हो,’ उनले भने । सांसद राईले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई चरम अपरिपक्व र राष्ट्रहितविपरीत भएको टिप्पणी गरे ।

प्रतिक्रिया