प्रधानमन्त्रीलाई नेपालले भारतको भूमि मिचेको तथ्य पेश गर्न राप्रपाको चुनौती


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन साहको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा शाहीले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको तथ्य पेश गर्न चुनौती दिए ।

उनले तथ्यांक बिनाको अभिव्यक्ति राजनीतिक भाषण हुन नसक्ने बताए । उनले भने,‘प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ तर सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार पनि हुनुपर्छ । चिया पसलमा गर्ने गफ र संसदको अभिव्यक्तिबीच फरक हुन्छ । सामान्य नागरिक र सामान्य जनताले भनेको कुरा फरक हुन्छ । त्यसैले प्रधानमन्त्रीका अभिव्यक्तिहरु तथ्य प्रमाण र यर्थातमा आधारित हुनुपर्छ । तथ्यांक बिनाको अभिव्यक्ति राजनीतिक भाषण हुनसक्छ । तर त्यो राज्य संचालन गर्ने आधार बन्न सक्दैन ।’

उनले प्रधानमन्त्रीका भनाइ तथ्यांक, प्रमाण र यथार्थमा आधारित हुनुपर्ने उल्लेख गर्दै तथ्यबिनाका अभिव्यक्ति राजनीतिक भाषण त हुनसक्ने तर राज्य सञ्चालनको आधार बन्न नसक्ने बताए। शाहीले नेपाल–भारत सीमा सम्बन्धी विषय उठाउँदै सरकारले भारतले नेपाली भूमि मिचेको दाबी गरेको हो भने त्यससम्बन्धी प्रमाण संसदसमक्ष प्रस्तुत गर्न आग्रह गरे ।

उनले भने,‘भावनाले ताली पाउन सक्छ । तर तथ्यले मात्र विश्वास जित्न सक्छ । यदि सरकारसँग नेपालले भारतले सिमाना मिचेको छ भने सम्मानीत संसद समक्ष प्रस्तुत गर्न अपील गर्छु । यदि छैन भने जनतालाई भ्रमित गर्ने खालका अभिव्यक्तिबाट सरकार स्वयम जोगिनु पर्छ । प्रधानमन्त्रीले तथ्यबिना संसदमा बोलेका तथ्यहरु संसदको रेकर्डबाट हटाउन अपील गर्छु ।’

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदले उठाएका प्रश्नको उक्त दिने क्रममा प्रधानमन्त्री बालेन साहले भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको बताएका थिए ।