विपक्षी दलले प्रधानमन्त्रीले संसदमा माफी नमागेसम्म बैठक चल्न नदिने


काठमाडौँ । विपक्षी दलले प्रधानमन्त्री बालेन साहले माफी नमागेसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेका छन् । सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले आइतबार संसदमा प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिमा माफी माग्नुपर्ने निर्णय गरेको हो ।

नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको ठहर गर्दै विपक्षी दलहरुले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने अडान लिने निर्णय गरेको जानकारी दिए ।

बैठकमा कांग्रेससहित, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी(नेकपा), श्रम संस्कृति पार्टी र राप्रपाका नेताहरू सहभागी थिए । प्रधानमन्त्रीले भारतले नेपाली भूमि मिचेकोमा कूटनीतिक तहबाट वार्ताका माध्यमबाट समाधान खोज्ने तयारी भएको र नेपालले पनि भारतका विभिन्न ठाउँमा भूमि मिचेको बताएपछि विपक्षी दल विरोधमा उत्रिएका छन् ।