नारायण गाउँले ।
सभामुख अलि तटस्थ, साहसी र परिपक्व भएको भए बालेनको अभिव्यक्ति–दुर्घटना रोकिने थियो । प्रधानमन्त्रीसँग प्रश्नोत्तरको आफ्नै प्रक्रिया र पद्धति छ । तीन दिनअघि सांसदहरूबाट लिखित प्रश्न लिने, अध्ययन र तयारी गर्ने अनि बल्ल जवाफ दिने । प्रधानमन्त्री अकस्मात् रोष्ट्रममा उभिनेबित्तिकै विपक्षी सांसदहरूले नियमापत्ति गर्दै प्रक्रियाको कुरा उठाएका थिए । तर सभामुखले त्यस्तो कुनै नियम नभएको झुटो दाबी गर्नभ्याए । उनी आत्तिएको अनुभव हुन्थ्यो । रास्वपा सांसद्ले ताली बजाए । आफ्नै पार्टी–पृष्ठभूमिका भए पनि गलत बोल्दासमेत ताली बजाउनु आवश्यक थिएन । रास्वपाका पुराना सांसदलाई यो नियम थाहा छ र अभ्यास समेत गरेका छन् ।
विधि र मर्यादा कुनै कारणले स्थापित भएको हुन्छ । सधैँ विधि मिचेरमात्रै ’क्रमभङ्गता’ या नयाँ भइँदैन । अकस्मात् संसदमा उपस्थित भएर कुनै नियम र प्रक्रियाबिनै क्याजुअल रूपमा लौ प्रश्न सोध भन्नु आवश्यक थिएन । अझ सार्वजनिक मञ्चमा बोल्ने अभ्यास र अनुभव नभएको व्यक्तिले नियम अनुसार नै लिखित प्रश्न लिएर तैयारी गरेको भए जबाफ पनि त्यस्तै सटीक र त्रुटिरहित आउने थियो । नियम बनाइएको नै प्रधानमन्त्रीको जबाफ विवादरहित, तथ्यपूर्ण र परिमार्जित होस् भन्नका लागि हो । सबै तथ्य र सूचना तत्काल एउटै व्यक्तिलाई थाहा हुन्छ भन्ने हुँदैन ।
विरोधलाई उचित संबोधन गर्ने जिम्मा सरकारको हो । प्रतिपक्षले सधैँ विरोध गर्ने र सत्तापक्षले सधैँ पेल्नेमात्रै भए त्यत्रो खर्च गरेर संसद बैठक किन चलाउनुपर्छ र । बालेनले दिएका अधिकांश उत्तर छोटा र सन्तुलित नै थिए । पहिलो पल्ट भए पनि बडी ल्याङ्गवेजदेखि प्रस्तुतिसम्म ’कन्फिडेन्स’को झलक थियो । आक्रामकता र गालीको भाषा पनि थिएन । प्रतिपक्षीलाई हेपेर या आफ्नै बढाइँ गरेर बोलेका पनि थिएनन् । यसअघि तीन घण्टा बोल्ने प्रधानमन्त्रीहरूको भाषण खोलेर सुन्नुभयो भने दुई घण्टा गाली र अर्को आधाघण्टा आत्मप्रसंशामात्रै भेट्नुहुनेछ । कति अभिव्यक्ति त तुच्छ भएकैले रेकर्डबाटै हटाइएको पनि छ । समग्रमा उनको प्रस्तुति सन्तोषजनक नै थियो ।
तर संसदीय अभ्यासदेखि कूटनीतिसम्मको ज्ञान र अनुभवको कमी त थियो नै, पद्धति र प्रक्रियाप्रतिको असम्मानले गर्दा पहिलो गासमैं ढुङ्गा लाग्ने स्थिति बन्यो । दुई छिमेकी मुलुक भारत र चीनलाई छोएर गरिएका दाबी गलत र विवादित हुन पुगे । प्रधानमन्त्रीको छवि र बोलीसँग सिङ्गो देश र हामी सबैको छवि जोडिन्छ ।
तीन दिनअघि प्रश्न टिपेर उत्तरको तयारी गरेको भए शायद विवाद आउने थिएन । सभामुखले संसदीय मर्यादा र नियमावलीलाई पालना गरेको भए यो विवाद आउने थिएन । गलत नियतले विवादित प्रसङ्ग आएजस्तो पनि लाग्दैन । तर दशगजाको खेतीपाती र कालापानीको सैनिक क्याम्पलाई सोलोडोलो बुझ्ने र अभिव्यक्ति दिने काम गैरजिम्मेबार र ठूलो गल्ती हो । त्यस्तो बोल्दै गर्दा पनि संसदमा ताली बजाउने काम पनि राम्रो होइन । तालीमा पनि क्रमभङ्गता जरूरी देखिन्छ । बहुमत सांसदले ताली बजाएर त्यो दाबीलाई समर्थन गरेको दृश्य पक्कै सुन्दर थिएन ।
बालेनलाई सही साबित गर्न नेपालले सीमा मिचेकै हो भन्दै तर्क गर्ने काम बालेनको अभिव्यक्तिभन्दा खतरनाक पक्ष हो । पाप सोचेर, दिमाग लगाएर होइन कि बालेनले अनजानवश र असावधानीवश त्यस्तो अभिव्यक्ति दिएका हुन् । तर त्यसलाई सचेततापूर्वक साबित गर्ने प्रयास एकदम गलत हो । परराष्ट्रले दशगजाको भोगचलनलाई प्रसङ्ग बनाएर यो मुद्दालाई ल्याण्ड गर्न खोजेको छ । अब हामीले होइन, बालेनले भूमिकै कुरो गरेको हो भन्दै उचाली राख्नु पनि लाभदायक छैन । जे उनको इन्टेशन होइन, त्यही साबित गर्न हामी लाग्नु हुँदैन ।
हरेक घटनाले केही सिकाउँछन् । बालेनले पनि पक्कै सिक्नेछन् । विपक्षीले त यस्तो मुद्दामा हल्ला र राजनीति गरि नै रहनेछन् । प्रधानमन्त्री बालेनले तत्काल संसदमा समय मागेर यस विषयलाई स्पष्ट गर्ने र यो हल्ला छिटोभन्दा छिटो बन्द गर्ने प्रयास गर्नु जायज हुनेछ । यो विवाद जति छिटो सेलायो, देशका लागि त्यति राम्रो हुनेछ भन्ने हामी सबैले मनन गर्नु जरूरी छ ।

प्रतिक्रिया