काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा ७ जना नयाँ सदस्य थप गरिएको छ । विभागीय प्रमुख इन्जिनियर श्रीराम न्यौपानेको सिफारिस तथा पार्टी महामन्त्रीको स्वीकृतिमा नयाँ सदस्यहरू मनोनयन गरिएको हो ।
नवनियुक्त सदस्यहरूमा इन्जिनियर गुणराज ढकाल, इन्जिनियर मान बहादुर शाही, इन्जिनियर बन्धु ढकाल, इन्जिनियर पूजा दाहाल, इन्जिनियर सनत आचार्य, अविज्ञा मल्ल र राजेन्द्र वस्ती रहेका छन्।
यसअघि विभागमा इन्जिनियर अम्बिकेश झा, इन्जिनियर चोक प्रसाद धिताल, इन्जिनियर रामहरी पौडेल तथा सुमन कुमारी जोशी सदस्य रहेका छन् । नयाँ सदस्यहरू थपिएसँगै विभाग १२ सदस्यीय बनेको छ।
विभागमा पूर्व ऊर्जा तथा जलस्रोत सचिवहरू इन्जिनियर देवेन्द्र कार्की, इन्जिनियर सुशील चन्द्र तिवारी तथा इन्जिनियर मधु भेटवाल रहेको ३ सदस्यीय सल्लाहकार समिति समेत रहेको छ। उक्त समितिले ऊर्जा तथा जलस्रोत क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा विभागलाई आवश्यक परामर्श तथा मार्गदर्शन प्रदान गर्नेछ।
विभागीय प्रमुख न्यौपानेको नेतृत्वमा यस अघि नै ऊर्जा नीति तयार भइसकेको छ। विभाग विस्तार गरेसँगै न्यौपानेले भने, ’अब ऊर्जा तथा जलस्रोत क्षेत्रको दीर्घकालीन विकास, लगानी प्रवद्र्धन, उत्पादन वृद्धि, प्रसारण तथा वितरण प्रणाली सुधार, नवीकरणीय ऊर्जाको विस्तार र जलस्रोतको प्रभावकारी उपयोगका लागि आवश्यक ऊर्जा तथा जलस्रोत नीति निर्माणको काम अघि बढाइनेछ । साथै ऊर्जा क्षेत्रसँग सम्बन्धित विधेयक तथा कानुनी व्यवस्थाहरूमा आवश्यक सुझाव, सुधार र नीतिगत परामर्श प्रदान गर्ने कार्यसमेत विभागले प्रारम्भ गर्नेछ ।’
ऊर्जा तथा जलस्रोत क्षेत्रका अनुभवी विज्ञ तथा पेशाकर्मीहरूको सहभागिताले विभागको क्षमता थप मजबुत बन्ने र मुलुकको ऊर्जा विकास तथा नीतिगत सुधारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया