काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसलाई नयाँ सोच, नयाँ संकल्प र नयाँ कार्यशैलीका साथ रूपान्तरण गर्ने अभियान अघि बढाइएको बताएका छन् ।
शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले विशेष महाधिवेशनमार्फत कांग्रेसलाई बदल्ने संकल्प गरिएको बताएका हुन् ।
उनले पार्टी परिवर्तनको अर्थ केवल नेतृत्व वा अनुहार परिवर्तन नभई विगतका सकारात्मक मूल्य र योगदानलाई जोगाउँदै कमजोरीहरूलाई त्याग्नु रहेको बताए ।
उनले भने, ‘विशेष महाधिवेशनबाट हामीले के संकल्प गरेका छौँ भने नेपाली कांग्रेसलाई बदल्छौँ। नेपाली कांग्रेस बदल्ने भनेको अनुहार बदल्ने कुरा मात्र होइन । अगाडिको अनुहार खराब थियो, अहिले आएको अनुहार सफा थियो भन्ने पटक्कै होइन । बदल्ने भनेको नयाँ संकल्प गर्ने भनेको हो । नयाँ सोचका साथ काम गर्ने भनेको हो। त्यो भनेको विगतबाट प्रेरणा लिने, विगतका जति पनि राम्रा कामहरू छन्, सत्कर्महरू छन्, गुणहरू छन्, त्यसलाई जोगाउने, जगेर्ना गर्ने र विगतका कूकर्महरूलाई छाड्ने हो।’
थापाले नेपालको राष्ट्रिय एकीकरण र अखण्डताको रक्षामा थारु समुदायले महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै समुदायप्रति सम्मान व्यक्त गरे।
थापाले बीपी कोइरालाले परशुनारायण चौधरीप्रति देखाएको विश्वास थारु समुदायप्रतिको सम्मानको प्रतीक भएको बताए ।
उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा कमैया मुक्तिको ऐतिहासिक निर्णय भएको स्मरण गरे । थापाले पार्टीको संगठन विस्तारमा थारु समुदायको सहभागिता बढाउन आग्रह गर्दै क्रियाशील सदस्यता विस्तार अभियानमा सक्रिय हुन आह्वान गरे ।

प्रतिक्रिया