काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।
बुधबार नेपाल प्रेस युनियनको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले नेपाली जनता प्रधानमन्त्रीको सम्बोधन सुन्न आतुर रहेका बताएका हुन् ।
उनले भन, ‘प्रधानमन्त्रीले राष्ट्रलाई देशको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र अन्तर्राष्ट्रिय सम्बन्धबारे स्पष्ट दृष्टिकोण दिनुपर्छ। सम्पूर्ण नेपाली जनता त्यो सुन्न आतुर छन् ।’
लोकतान्त्रिक व्यवस्थामाथि विश्वभर चुनौती बढिरहेको उल्लेख गर्दै यादवले नेपालमा पनि लोकतान्त्रिक मूल्य र संस्थालाई सुदृढ गर्न आवश्यक रहेको बताए । उनले भने, ‘संसद सरकार, न्यायालय र राष्ट्रपतिको संस्था बीच समन्वय भएर मात्रै लोकतान्त्रिक प्रणाली सफल हुन्छ ।’
पूर्वराष्ट्रपति यादवले संविधान समयानुकूल परिमार्जन हुँदै दीर्घकालसम्म कायम रहोस् भन्ने शुभकामना व्यक्त गरे । उनले लोकतन्त्र, गणतन्त्र र संघीय व्यवस्थालाई संस्थागत गर्दै देशलाई सही दिशामा अघि बढाउन सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने बताए ।
पूर्वराष्ट्रपति यादवले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै नयाँ पुस्ताले प्राप्त जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने बताए । उनले भने, ‘जनताले ठूलो आशाका साथ नयाँ शक्तिलाई समर्थन गरेका छन्। अब यो व्यवस्थालाई संस्थागत गर्दै देशलाई सही बाटोमा लैजानुपर्ने जिम्मेवारी उनीहरूको पनि हो ।’

प्रतिक्रिया