वासिङ्टन, रोयटर्स । ह्वाइट हाउस नजिकै सुरक्षाकर्मीसँग भएको दोहोरो गोली हानाहानमा एक संदिग्धको मृत्यु भएको अमेरिकी सिक्रेट सर्भिसले जनाएको छ ।
शनिबार साँझ १७ औँ सडक र पेन्सिल्भेनिया एभिन्यूस्थित सुरक्षा जाँच चौकीमा पुगेका एक व्यक्तिले झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि गोली चलाएका थिए । त्यसपछि सुरक्षाकर्मीले जवाफी फायर गर्दा ती व्यक्ति घाइते भएका थिए। अस्पताल लगिएपछि उनको मृत्यु भएको सिक्रेट सर्भिसले जनाएको छ ।
घटनामा एक सर्वसाधारण पनि गोली लागेर घाइते भएका छन् । तर उनको अवस्था कस्तो छ भन्ने खुलाइएको छैन । सुरक्षा अधिकारीले संदिग्ध मानसिक रूपमा अस्थिर व्यक्ति रहेको बताएका छन्।
उनका अनुसार यसअघि नै उनलाई उक्त क्षेत्रबाट टाढा रहन आदेश दिइएको थियो । घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते भएका छैनन् । घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै रहेका थिए।

प्रतिक्रिया