काठमाडौँ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्व छाड्न आग्रह गरेकी छन् । ओली निवास गुण्डुमा सचिवालय बैठक चलिरहेका बेला सामाजिक संजालमार्फत शाक्यले ओलीलाई पदबाट बिदा लिन आग्रह गरेकी हुन् ।
उनले अध्यक्ष पदमा रहेर तीन कार्यकाल नेतृत्व गरिसकेकाले अब कार्यकर्ताको भावना बुझ्न जरुरी रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘कमरेड अध्यक्ष केपी शर्मा ओली । तपाईं नेकपा एमालेको अध्यक्ष पदमा रहेर तीन कार्यकाल नेतृत्व गरिसक्नु भाको छ । यतिबेला कमरेडले कार्यकर्ताको भावना बुझ्न जरुरी छ। निर्वाचन पश्चात गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले आज यो कमजोर स्थितिमा पुगेको छ। पुनः नेकपा एमालेलाई आन्दोलनको नेतृत्वमा पुर्याउन सकिन्छ ।अहिले पनि तपाईँले देखाउनुभएको दम्भ . घमण्ड र गुटगत सोच .म उस्तै देख्छु।’
उनले ओलीलाई सास रहुन्जेल एमाले पार्टीको .अध्यक्ष भइराख्ने सोच गलत भएको बताएकी छन् ।
उनले भनेकी छन्, ‘बलिदानको रगतले जन्मेको पार्टी हो एमाले। लाखौं कार्यकर्ताहरूको त्याग र सङ्घर्षबाट अगाडि बढेको पार्टी हो एमाले । यो पार्टी तपाईंको मात्र पेवा होइन । एमाले तपाईँको गुटको कम्पनी पनि होइन । त्यसैले कमरेड सास रहुन्जेल एमाले पार्टीको .अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ।। अहिले एक्काइसौँ शताब्दीमा छौं हामी . आजको समयको माग विचार ,सामूहिकता ’ सङ्घर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो । अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ । कमरेडले यही बैठकबाट ससम्मान अध्यक्ष पदबाट बिदा लिनु राम्रो हुन्छ । नेकपा एमाले पुनर्जीवित गर्न अन्धकारमा डुब्न लागेको एमाले फेरि उठाउन .सकिन्छ । व्यक्तिको गुणगान र चाकरीमा खर्च गर्ने यो समय होइन। देश र जनताको हितमा निस्वार्थी भावना राखेर कामगर्ने बेला हो ।आजको समयको माग पनि यही हो ।’

प्रतिक्रिया