नवनियुक्त प्रधानन्यायाधीश शर्मालाई पत्रकार विजयकुमारको सुझावः तपाईको नेतृत्वमा न्यायालय सबैले आदर र विश्वास गर्न लायक संस्था बन्न सकोस्


श्रीमान् प्रधानन्यायाधीश मनोज शर्माजी,

आफूभन्दा वरिष्ठ ३ न्यायाधीशलाई पन्छाएर प्रधानन्यायाधीश पदमा नियुक्त हुनु भएकोमा सबैभन्दा पहिले शुभकामना दिन चाहन्छु । म आशा गर्छु, आगामी दिनमा हामी सबै भन्न सकौँ–परम्परा तोडेर नेपालमा एक यस्तो मानिसलाई प्रधानन्यायाधीश बनाइयो, जो परम्परा र नियमित ट्रयाक तोडेर पनि प्रधानन्यायाधीश पदमा आसीन गराइन साँच्चिकै योग्य थियो ।
असाधारण तरिका र गतिमा उच्च जिम्मेवारी पाएकाहरूबाट, संविधानले र समाजले त्यतिकै धेरै असाधारण क्षमता, निष्पक्षता, निर्भयता र उदार समभावको अपेक्षा गर्छ ।

तपाईँको कार्यकालको समापन हुने बेला आउँदा, नेपालको न्यायिक इतिहासले तपाईंमाथि, नियुक्त हुनुअघिको समर्थन–विरोधका आधारमा फैसला नगरोस् अपितु गौरव गर्न सकोस् भन्ने हार्दिक कामना पनि गर्दछु ।

प्रसंगवश एउटा पूरानो प्रसंग सेयर गर्न चाहन्छु । आज तपाईं जुन आसनमा बस्दै हुनुहुन्छ, त्यहाँ ’केही’ कस्ता कस्ता महान न्यायमूर्तिहरु पनि बिराजमान थिए भन्ने प्रेरणाका लागी ।आज सम्झँदा पनि छक्क पर्छु—पञ्चायतकालको सर्वोच्च अदालतले राजद्रोह लागेको बीपी कोइरालालाई रिहाइको आदेश दिन सक्थ्यो ।

महान् संविधानविद् एवं बीपी कोइरालको मुद्दामा पैरवी गरेका श्री गणेशराज शर्माका कालजयी वचन छन्–‘त्यो शासक के शासक, जसले नियुक्त गरेका न्यायाधीशहरु–भय र प्रभावमा फैसला गररुन् । मलाई जति खुसी र गौरव बीपीको रिहाइमा छ, त्यतिकै गौरव राजाले नियुक्त गरेका ती केही इमान्दार, सक्षम र निर्भय न्यायाधीशहरूमा पनि छ, जसले राजद्रोहको अभियोग लागेका अभियुक्तलाई रिहाइको आदेश दिए ।’

यति भनिसकेपछि के थप्नु पर्छ र ! तपाईको नेतृत्वमा नेपालको सर्वोच्च अदालत र न्याय विश्वास क्षेत्र, सबैले आदर र विश्वास गर्न लायक संस्था बन्न सकोस्, हार्दिक शुभकामना व्यक्त गर्छु । सादर,
विजय कुमार