मेरो नगरमा अब भगवानको रक्षा गरिदिनुस् भन्नुपर्ने बेला आएको छः सांसद खरेल


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले ललितपुरका ऐतिहासिक सम्पदा र प्राचीन मूर्तिहरू चोरी भइरहेको चोरी रोक्न माग गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले सम्पदा र सभ्यताको धनी सहर ललितपुरमा अहिले ‘भगवानले हाम्रो रक्षा गर्ने नभइ हामीले भगवानको रक्षा गर्नुपर्ने’ विडम्बनापूर्ण अवस्था सिर्जना भएको बताए ।

ललितपुर क्षेत्र नं. २ का सांसद खरेलले आफ्नो नगरमा प्राचीन मूर्ति र ऐतिहासिक हिटीहरू हराइरहेको र सम्पदा क्षेत्रमा अतिक्रमण बढिरहेको उल्लेख गरे।

उनले भने,‘भनिन्छ, भगवानले हाम्रो रक्षा गर्छन्, तर मेरो नगरमा अब भगवानको रक्षा गरिदिनुस् भन्नुपर्ने बेला आएको छ । मूर्तिहरू चोरी भएका छन्, हिटीहरू हराएका छन्। कतिपय ठाउँमा उत्खनन गर्नुपर्ने आवश्यकता छ भने कतै अतिक्रमणले बढेको छ ।’

उनले १६०० वर्ष पुरानो ऐतिहासिक रातो मछिन्द्रनाथको जात्रामा प्रयोग हुने खासगरी ‘धोमा’को दायाँ–बायाँ राखिने नौं फिट लामो र करिब ९० किलो तौल भएको ‘हिटी मंग’ हराएको विषय सदनमा राखे ।

उनले भने, ‘रातो मछिन्द्रनाथको जात्रामा प्रयोग हुने, खासगरी ’धोमा’को दायाँ–बायाँ राखिने नौं फिट लामो र करिब ९० किलो तौल भएको ‘हिटी मंग’ हराएको छ । त्यो कहाँ गयो, कसैलाई थाहा छैन ।’