प्रधानमन्त्रीप्रति हर्क साम्पाङको कटाक्षः आफ्नो बिहेमा अरूलाई बेहुला बनाएर पठाउन मिल्दैन


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रधानमन्त्री उपस्थित नभएकोमा असन्तुष्टि जनाएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममा भाग लिँदै अध्यक्ष साम्पाङले प्रधानमन्त्री जवाफ दिन बैठकमा नआए आफूहरुले सदन बहिष्कार गर्ने बताए ।

उनले प्रधानमन्त्री सबैको नेता भएकाले मर्यादित बन्नुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीले छलफल सुन्नुभएन, तर उत्तर दिने बेलामा उहाँ आउनुहुनेछ भन्ने विश्वास लिएको छ। यदि उहाँ आउनुभएन भने हाम्रो पार्टी बाहिरिनेछ। हामीले अरूबाट सुन्नुपर्ने स्थिति होइन।’

उनले प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै आफ्नो बिहेमा अरूलाई बेहुला बनाएर पठाउन नमिल्ने बताए । अध्यक्ष साम्पाङले काग कराइरहन्छ, पिना सुक्दै गर्छ भन्ने सोच नराख्न प्रधानमन्त्रीलाई आग्रह गरे ।