ऋषि कट्टेल ।
हामी चारदल बालेन सरकारको जनविरोधी र जनतन्त्र विरोधी हर्कतको विरुद्ध सडकमा विरोध प्रदर्शन गरिरहेका थियौँ । यो सरकारले सुकुम्बासीविरुद्ध गरेको बर्बर दमन मानवता विरुद्धको अपराध हो । दमनको पीडावाट ४ जना नागरिकले आत्महत्या गरिसकेका छन् । सयौँ बालबालिका सडकमा चिच्याइरहेका छन् । सुत्केरी, बृद्धबृद्धा ,असक्तहरु खुला आकासमुनि पीडा पोखिरहेका छन् । यो दमनले हिटलरको ग्यास च्याम्वरलाई माथ गरेको छ । यस्ता पात्रलाई सांसदहरु सम्मानीयज्यू संसदमा आएर दर्शन बक्स्योस् भनि याचना गरिरहेका छन् । यो भन्दा भद्दा प्रहसन के हुन्छ ?
बालेन आफैँ संसदप्रति जवाफदेही छैनन् र हुनुपनि पर्दैन । उनी संसदीय दलले चुनेको प्रधानमन्त्री हैनन् । चुनाव भन्दा अघिनै घोषित प्रधानमन्त्री हुन् । रास्वपा पार्टीलाई उसलाई फिर्ता बोलाउने छैन । यदि उनीमाथि संसदले कुनै कारबाही गर्यो भने संसद विघटन गर्न सक्दछन् । अर्को कुरा बालेन दलको मान्छे हैनन् । प्रधानमन्त्री घोषणा भएपछिमात्र उनले रास्वपाको टिकटमा चुनाव लडेका हुन् । यस भन्दापछि उनले रास्वपाको कुनै औपचारिक कार्यक्रममा सहभागिता जनाएकोसम्म पनि थाहा छैन । त्यसकारण संसद बालेनको हैन । बालेनले रास्वपाको कुनै मन्त्रीलाई जवाफदिनु भनेको कुरा स्वभाविकै हो ।
अर्कोकुरा बालेनहरु प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रहेको कुरा पनि सार्वजनिक नै छ । उनीहरु भाद्र २४ मै यो संविधान खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको बाटोमा जान चाहन्थे । भूराजनीतिक कारणले तत्काल त्योकुरा सम्भव भएन । त्यसकारणनै उनले आफूले प्रधानमन्त्रीको पद अस्वीकार गरेका थिए । सुशीला सरकारमार्फत यो बाटो खुलाएर मात्र उनी निर्दलीय चुनावमा जान चाहन्थे । सुशीलाले धोखा दिएको कुरा सार्वजनिक भएकै छ । त्यसबेलासम्म उनले निर्वाचनवारे कुनै निर्णय गरेनन् जबसम्म रास्वपाले उनलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको रुपमा स्वीकार गरेर उम्मेदवार घोषणा गरेन । यदि बालेनलाई प्रधानमन्त्री घोषणा नगरेको भए त्यो चुनाव हुँदैन थियो ।
यदि फागुन २१ लाई जनादेश मान्ने हो भने बालेनले संसदप्रति जवाफदेही हुनुपर्दैन । किनकी उनी चुनाव अघिनै घोषित प्रधानमन्त्री हुन् । जनताले त्यसैलाई अनुमोदन गरेका हुन् । सांसदहरु अनुमोदन गर्न निर्वाचित भएका हुन । तसर्थ संसदको काम उनको नीतिको अनुमोदन गर्नेमात्र हो । चुनावमा बालेन जसरी नै प्रधानमन्त्री घोषणा गदै जाने अनि अहिले बालेनले संसदलाई टेरेन भन्ने ? जहाँसम्म संविधानको कुरा छ यो संविधान भाद्र २४ मै मरिसकेको छ । किनकी सुशीला सरकार यो संविधान अनुसार बनेकै हैन । असंवैधानिक सरकारले गराउने निर्वाचनमा भाग लिने अनि हारेपछि संविधानको कुरा गर्नु वकवास मात्र होे ।

प्रतिक्रिया