संविधानविद्हरूसँग अध्यादेशकाबारेमा राष्ट्रपतिको परामर्श


काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशका बारेमा राष्ट्रपति भवन शीतल निवासमा संविधानविद् तथा कानुनविदहरूसँग परामर्श गरेका छन् ।

बिहीबार भएको परामर्शमा कानुनविद्हरू बद्रीबहादुर कार्की, महादेव यादव, पूर्णमान शाक्य, डा. भीमार्जुन आचार्य र टीकाराम भट्टराई सहभागी थिए । भेटमा कानुनविदले अध्यादेशबारे हतारमा निर्णय नगर्न राष्ट्रपति सुझाव दिएका छन् ।

कानुनविदले प्रधानमन्त्री राष्ट्रपतिको समेत सल्लाहकार भएकोले उनीसँग तत्काल संवाद थाल्न सुझाव दिएका छन् । सरकारले ६ वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

त्यसमध्ये ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३’ बिहीबार राष्ट्रपति पौडेलले जारी गरेका छन् । अब संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्ने अध्यादेश, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश र सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गर्ने अध्यादेश जारी गर्न बाँकी छन् ।

यी अध्यादेश मध्ये संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) अध्यादेश पेचिलो बनेको छ । राष्ट्रपति पौडेलले यसअघि दुई पटक यो अध्यादेश रोकिसकेका छन् ।