क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने


चितवन । चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पद खुला आवेदनमार्फत चयन गरिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले सात दिनभित्र आवेदन पेस गर्न सक्ने जनाएको छ।

सूचनामा अस्पतालको ऐन, २०५३ को दफा ७ को उपदफा (१) को खण्ड (क)मा उल्लेख भएबमोजिम योग्यता भनिएको छ। जसअनुसार अध्यक्ष बन्नका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको वा मान्यता प्राप्त शिक्षण संस्थानबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव प्राप्त वरिष्ठ चिकित्सहरूमध्येबाट सरकारले मनोनित गर्ने भनिएको छ।

अध्यक्ष पदको पदावधि तीन वर्षको रहने छ। यसअघि २०७९ साल चैत २० मा बसेको मन्त्रिपरिषद्को बैठकले डा विजयराज न्यौपानेलाई अस्तपालको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनको तीनवर्षे पदावधि सकिएपछि नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको हो । पहिलोपटक खुला आवेदनमार्फत अध्यक्ष नियुक्ति गर्न लागिएको हो।