खासमा हामीलाई कस्तो शिक्षा चाहिएको हो ?


क्रान्तिशिखा धिताल ।

त्रिभुवन विश्वविद्यालयमा ८० प्रतिशत उपस्थितिको नियम सेमेस्टर प्रणालीसँगै लागू गरियो, जसको उद्देश्य नियमितता र निरन्तर सिकाइ सुनिश्चित गर्नु थियो। यसबारे विमर्श गर्दा अन्तर्राष्ट्रिय अभ्याससँग पनि मेल खाने किसिमको हो भन्ने तर्क पनि सुनिन्छ । तर अन्तर्राष्ट्रिय अभ्यास अपनाउँदा हाम्रो संरचना, सामाजिक चेतना र व्यवहारिक अवस्थाको तह पनि ध्यानमा राख्नुपर्छ कि पर्दैन ? आजको एआई र डिजिटल युगमा भौतिक उपस्थितिलाई मात्र ज्ञानको एकमात्र मापदण्ड बनाउने सोचमाथि पुनर्विचार गरौं । खासमा हामीलाई कस्तो शिक्षा चाहिएको हो ? कक्षामा भरिभराउ विद्यार्थी कि गुणस्तरीय शिक्षा दिन सक्ने प्रणाली ?
एकपटक सोचौं त एउटै कक्षामा फरक–फरक स्तरका विद्यार्थीहरू राखेर औसत स्तरको पढाइ थोपरिरहेका त छैनौं? अनि त्यसलाई उपस्थितिको नाममा बाध्यकारी बनाइरहेका त छैनौं ?

के हामीसँग यी सबै वैकल्पिक सिकाइका संरचनाहरूलाई पूर्ण रूपमा समेट्ने क्षमता विकास भइसकेको छ? कि हामीले आफ्नै लागि सहज हुने नियम अपनाएर विद्यार्थीका विविध परिस्थितिलाई बेवास्ता गरिरहेका छौं ? हामी यही विश्वविद्यालयको प्रांगणमा बसेर कोही नेता बन्छौं, कोही वैज्ञानिक, कोही विभिन्न क्षेत्रमा सफल बन्छौं । तर त्यही प्रांगणभित्र छिर्दा किन सोच र प्रणाली वर्षौँ पुरानो ढाँचामा फर्किन्छ ?

स्नातकोत्तर तहमा एउटा विद्यार्थीलाई जटिल लाग्ने कुरा अर्कोका लागि आधारभूत हुन सक्छ। के यो विविधता स्वाभाविक हो ? स्नातकोत्तर तह भनेको विशेषज्ञता, गहिरो बुझाइ, उस्तै तहको चेतना र स्वतन्त्र सोचको पो हो त। यहाँ एउटा विद्यार्थीलाई जटिल लाग्ने कुरा अर्कोका लागि आधारभूत भइराख्नु सामान्य हो। यसलाई सामान्य भनेर स्वीकार नगरौं।

प्लस टु वा स्नातक तहसम्म यस्तो अवस्था केही हदसम्म स्वीकार्य हुन सक्छ, तर स्नातकोत्तर तहमा पनि त्यही संरचना दोहोरिनु भनेको हामीले यसलाई गम्भीरतापूर्वक हेर्नुपर्छ। यदि कुनै विद्यार्थीले स्नातकोत्तर तहमा नयाँ विषय वा क्षेत्र अध्ययन गरिरहेको छ भने उसले कार्यशाला, प्रमाणीकरण (सर्टिफिकेसन) वा अन्य वैकल्पिक माध्यमबाट आफ्नो सो अध्ययनसँग सम्बन्धित ज्ञानको कमी पूरा गर्ने नियम बनाऔं। यसले कक्षामा हुने बहसको स्तर मिलाउने माध्यमको रूपमा काम गर्छ।

शिक्षालाई जीवित र गतिशील प्रक्रियाबाट हटाएर यान्त्रिक उपस्थितिमा सीमित नगरौं। यदि विश्वविद्यालयले समयसँगै आफूलाई रूपान्तरण गर्न सकेन भने, विद्यार्थीलाई अघि बढाउने संस्था आफैं पछाडि तान्ने संरचना बन्न सक्छ। नियमहरूलाई यस्तो ढंगले प्रयोग गरिनु हुँदैन कि ती आफैं आफ्नो मूल उद्देश्यभन्दा ठूलो बाध्यता बनून्।