गरीबलाई दमन गर्न प्रहरी र सेना देखाउने सरकार लोकतान्त्रिक हुनै सक्दैनः अध्यक्ष साम्पाङ


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन सरकार असफल भइसकेको बताएका छन् । सुकुम्बासी बस्ती हटाएकोमा असन्तुष्टि जनाउँदै अध्यक्ष साम्पाङले सामाजिक संजालमार्फत सरकारको कदमको विरोध गरेका हुन् ।

उनले भनेका छन्, ‘रास्वपा बालेन सरकार असफल भैसकेको छ । अब अवसान मात्रै बाँकी छ । त्यो सरकार जसले गरीबको गाँस खोस्छ र बास भत्काइदिन्छ त्यो असफल सरकार हो । यो तस्बिरले हजारौँ शब्दहरु बोलिरहेका छन् । गरीबलाई लात हान्ने प्रवृतिको कुनै पनि हालतमा पुष्टि गर्न सकिन्न चाहे पत्रकार किनून् या सामाजिक संजाल भरि गरीब र गरीबलाई बचाउन खोज्नेलाई गाली गरून् यो अमानवीय कृत्यलाई पुष्टि गर्न सकिन्न किमार्थ ।’

उनले गरीबको घाउमा मलहम लगाउन नसक्ने हात र गरीबको पीडा बोल्न नसक्ने ओठको केही काम नभएको बताएका छन् । उनले गरीबलाई दमन गर्न हजारौँ प्रहरी र सेना देखाउने सरकार लोकतान्त्रिक हुन नसक्ने बताएका छन् ।

उनले भनेका छन्, ‘करोडौँ अर्बौँ भ्रष्टाचार गरी गरी महल बनाएर मस्त निदाउनेहरुलाई मेरो चुनौती छ । गरीबलाई सास फेर्न सक्ने वातावरण बनाएर देखाऊ । यो गरीबलाई दमन गर्न हजारौँ प्रहरी र सेना देखाउने सरकार लोकतान्त्रिक सरकार हुँदै होइन । चुप चाप घण्टीमा छाप भन्दै भोट माग्ने र दिनेहरु अब चुपचाप सामान बोकी टाप दिन पर्दाको विजोगलाई म कुनै पनि हालतमा अनुमोदन गर्न सक्दिन । गरीबको दुःख नदेख्ने आँखा ! गरीबको घाउमा मलहम लगाउन नसक्ने हात र गरीबको पीडा बोल्न नसक्ने ओठको केही काम छैन । सबैलाई यो बेला सरकारको जमेर विरोध गर्न आह्वान गर्दछु । हामीले बनाउन चाहेको देश के यस्तै हो त ? नेता महलमा अनि जनता सडकमा ? आज यी प्रश्न म सारा नेपालीलाई तेर्साउन चाहन्छु । मलाई उत्तर दिनुहोस् ।’