काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन साह नेतृत्वको सरकारलाई केपी ओली सरकारको नयाँ भर्सनको संज्ञा दिएका छन् ।
काठमाडौँ उपत्यकाका सुकुम्बासीलाई जबर्जस्ती हटाएको भन्दै यस्तो बताएका हुन् । उनले सुकुम्बासी र गरीबलाई लठ्ठी, बुट र बन्दुक देखाएर साह्रै बहादुरी गरेको भन्दै आपत्ति जनाएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘ओलीको नयाँ भर्सन अहिलेको सरकार ! राज्यको दादागिरी लठ्ठी, बुट र बन्दुक ! धन्यवाद ! सुकुम्बासी र गरीबलाई लठ्ठी, बुट र बन्दुक देखाएर साह्रै बहादुर भएछ्न् एक दुई जना ! विकासको नाममा सुकुम्बासी बस्ती हटाउने काम मात्रै हो कि क्या हो ? के छन् योजना निर्माण कार्य सम्बन्धि ?’
उनले रास्वपा सरकारको विकासको योजना लठ्ठी, बुट, बन्दुक र विदेशी ऋण बाहेक केही नभएको बताएका छन् । उनले महाकाली नदीमा भारतले गरेको अतिक्रमण रोक्न आवाज नउठाउनेले सुकुम्बासी बस्तीमा सीमित भएर दादागिरी देखाएका बताए । उनले भनेका छन्, ‘रास्वपा सरकारको विकासको योजना ‘लठ्ठी, बुट, बन्दुक र विदेशी ऋण’ यो भन्दा अर्थोक केही छैन योजना । महाकाली नदीमा भारतले गरेको अतिक्रमण रोक्नलाई के पहल गर्यो ? कि सुकुमबासी बस्तीमै आफ्नो दादागिरी सीमित गर्यो ? घर साँढे वन बिरालो !’
उनले गरीबलाई विस्थापित गर्नुले सरकार असफल भएको संकेत दिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘गरीबलाई विस्थापित गर्नुले सरकार असफल भएको संकेत दिएको छ । सक्छ भने महाकालीको सीमा अतिक्रमण रोकेर देखाओस् ! निर्धा दुब्लालाई हेपेर को ठुलो बन्छ हौ ! हावामा ! उफ्फ्फ्फ… । चुनाव अघि र चुनावको दिन चुपचाप घण्टी छाप ! चुनाव पछि अब चुपचाप सामान बोकेर टाप ! भत्काउन बाहेक केही गर्न नजानेको मान्छेले के के निर्माण गर्दो हो ? हेर्नु पर्नेछ !’

प्रतिक्रिया