कर्मचारीलाई ३ महिनासम्म विदेश जान प्रधानमन्त्री कार्यालयको रोक


काठमाडौं । सरकारले तीन महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा नजान निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग र निकाय (सबै)लाई पत्राचार गर्दै वैदेशिक भ्रमणका रोक लगाएको हो ।

सरकारको गत चैत १३ गतेको निर्णयअनुसार स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको उच्च प्राथमिकतका साथ कार्यान्वयन भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्यालयले यस्तो निर्देशन दिएको हो ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी निर्देशनमा भनिएको छ, ‘कर्मचारी वैदेशिक भ्रमणमा जाँदा उक्त एक सय कार्यसूचीको कार्यान्वयनमा बाधा उत्पन्न हुनसक्ने भएकाले वैदेशिक भ्रमणमा कुनै पनि कर्मचारीलाई मनोनयन नगर्न अनुरोध छ ।’