रविलाई रक्षा बमको आग्रहः भोलि छाती थाप्न आउनुहुन्छ नि यहाँ ?


काठमाडौँ । सरकारले विकल्प विना काठमाडौँ उपत्यकाका बस्ती हटाउन लागेको भन्दै जेनजी अभियन्ताबाटै विरोध भएको छ । जेनजी अभियन्ता रक्षा बमले चुनाव अघि रास्वपाका सभापति रवि लामिछानेले गरेको वाचा सम्झाउँदै सरकारको तयारीको विरोध गरेकी हुन् ।

रवि लामिछानेले चुनावमा भोट माग्दा सुकुम्बासी बस्तीमा डोजर नचलाउने र कसैले डोजर चलाए आफू छाती थाप्न आउने बताएका थिए ।

रविको भनाई सम्झाउँदै बमले रविलाई भोलि छाती थाप्न आउन आग्रह गरेकी छन् । उनले सामाजिक संजालमा लेखेकी छन्, आदरणीय रवि लामिछानेज्यू, भोलि छाती थाप्न आउनुहुन्छ नि यहाँ ? तपाईंको पार्टीलाई भोट दिनु नै गल्ती भएछ भन्दै छन् । वर्षौंदेखि सुकुम्बासी बसेका ठाउँलाई भोट बैंक मात्र बनाउँदै आएका दलहरूभन्दा तपाईंहरू फरक हुनुहुन्न रे । आज सुकुम्बासी बस्ती आतंकित छ। सभापतिज्यू, सिधा कुरा सुकुम्बासीसँग कहिले गर्नुहुन्छ ? भोलि आउनुस् ल ?’

काठमाडौँको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरूबाट अन्यत्र सर्न सुरक्षाकर्मीले बिहीबार साँझ माइकिङ गरी सबैलाई अनुरोध गरेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै वैशाख १२ गतेदेखि खाली गरिने भएकाले त्यसअघि नै बस्ती खाली गर्न अनुरोध गरेको हो । माइकिङमार्फत अनुरोध गरिएको छ, “वैशाख १२ गते बिहान ६ः०० बजेदेखि घरटहरा भत्काउने र अतिक्रममित जग्गा पूर्ण खाली गर्ने कार्य सुरु गरिने र त्यस कार्यमा अवरोध गरेमा कानुनअनुसार कारबाही हुनेछ ।”नेपाल सरकारले वास्तविक भूमिहीनको लगत लिई आवश्यक कार्य तत्काल सुरु हुने सूचनामा भनिएको छ । त्यसमा बस्ने अपाङ्गता भएका, बालबालिका, सुत्केरी, वृद्धवृद्धा र बिरामीलाई प्राथमिकता दिई सुरक्षित रूपमा सार्न अनुरोध गरिएको छ । त्यसका लागि सुरक्षाकर्मीको सहयोग चाहिएमा सहयोग माग्न अनुरोध पनि गरिएको छ ।