काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको वास्तविक संरक्षण गर्न सक्छ भन्ने इतिहासले प्रमाणित गरेको बताएका हुन् ।
उनले नेपाली कम्युनिष्टहरूको काँधमा विगतका बलिदानीपूर्ण सङ्घर्षका उपलब्धिहरूको रक्षा गर्दै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी अझ बढेको उल्लेख गरेका छन् ।
इतिहासले सुम्पेको यही जिम्मेवारी पूरा गर्न नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा तथा घोषणापत्र र त्यसपछिका विकसित विचारहरूको संश्लेषण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि उनले आह्वान गरेका छन् ।
साथै, नेपाली जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेकोमा उनले जोड दिएका छन् । उनले आज शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखापरेका बताएका छन् ।


प्रतिक्रिया