निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टी पुनर्गठन अहिलेको प्राथमिकताः विष्णु पौडेल


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वामपन्थी एकताको चर्चा असान्दर्भिक रहेको बताएका छन् ।

वामपन्थी एकताको चर्चा चलिरहेका बेला शनिबार सामाजिक संजालमार्फत उपाध्यक्ष पौडेलले अहिले निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टी पुनर्गठन प्राथमिकता भएको बताएका हुन् । उनले भनेका छन्, ‘नेकपा (एमाले) का लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो । यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले, किन चलाइरहेका हुन् ?’

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डको भेटलाई वामपन्थी एकताको अर्थका रुपमा विश्लेषण भइरहेका बेला पौडेलको यस्तो भनाई आएको छ । केही दिनअघि प्रचण्ड त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई भेट्न पुगेका थिए ।

भेटमा वामपन्थी एकता विषयमा कुराकानी भएको बताइएको छ । तर दुबै नेताले भने यसबारेमा मुख खोलेका छैनन् । यता एमाले उपाध्यक्ष पौडेल र महासचिव शंकर पोखरेल पार्टी पुनर्गठन गर्नुपर्ने एकमत भएको खबर समेत सार्वजनिक भएका छन् ।