संसदका १० वटा विषयगत समितिमा सर्वसम्मत सभापति चयन, दुई वटामा भने मतदान


काठमाडौँ । संघीय संसदका १२ वटै विषयगत समितिको सभापति चयन गरिएको छ । शुक्रबार समितिको सभापति चयन गरिएको हो । शुक्रबार भएको १० वटा समितिमा सर्वसम्मत सभापति चयन भए भने दुई वटामा भने निर्वाचन भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा रास्वपाका अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापतिमा रास्वपाका आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा रास्वपाकी आकृति अवस्थी, त्यस्तै, संसदीय सुनुवाइ समिति सभापतिमा रास्वपाका बोधनारायण श्रेष्ठ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाका रहबर अन्सारी, अर्थ समिति सभापतिमा डा. कृष्णहरि बुढाथोकी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा रास्वपाका सुम्निमा उदास सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरत खड्का निर्विरोध निर्वााचित भएका छन् । दुईवटा समिति सभापतिका लागि भने मतदान भएको थियो । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन सभापतिमा रास्वपाका तर्फबाट गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मदनकुमारी शाह (गरिमा) को उम्मेदवारी परेको थियो । समिति सभापतिमा रास्वपाको स्पष्ट बहुमत भएकाले कार्की निर्वाचित भएका छन् ।

त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा रास्वपाकी ओजस्वी शेरचन र नेकपा एमालेका गुरुप्रसाद बरालको उम्मेदवारी परेको थियो । तर रास्वपाकी शेरचन सभापति निर्वाचित भइन् । सभापति चयनका लागि बिहीबार मनोनयन दर्ता गरिएको थियो ।