–नारायण गाउँले ।
विद्युतीय गतिमा विशेष महाधिवेशन भयो, साह्रै लोसे मानिने शेरबहादुर गए, फुर्तिला गगन थापा इन भए । त्यत्रो चुनाव सम्पन्न भएर सरकार बन्यो । मन्त्री छानिए, सभामुखदेखि उपसभामुखसम्म सबै छानिइसके । संसदको अधिवेशन पनि सकिइसक्यो । तर सुधारिएको कांग्रेस–२ ले एउटा संसदीय दलको नेता समेत छान्न सकेन । प्रमुख प्रतिपक्षी दलको नेताबिनै अधिवेशन सकियो । देशको अति महत्त्वपूर्ण संवैधानिक परिषदले कांग्रेसकै सुस्तताका कारण पूर्णता पाएन ।
हेर्दा एउटा नेता नबनेर के भयो र जस्तो लाग्ला । तर यो काम गर्ने शैली, जाँगर, स्पीड र सन्देश सबैसँग जोडिने कुरा हो । कांग्रेस–२ को स्पीड यही हो भने यो सुधार होइन । यस्तो स्पीडले अबको राजकाज चल्न सक्दैन । प्रतिपक्ष भनेको संसदीय लोकतन्त्रको मुख्य खम्बा हो । डे–वानदेखि नै यसको सबल भूमिका र गति हुनुपर्छ । सरकारभन्दा यसको गति कम भयो भने लोकतन्त्र बलियो बन्दैन ।
हिजोका सरकार बन्ने प्रक्रिया एकदम सुस्त थियो । मन्त्री छान्दाछान्दै छ महिना बित्थ्यो । भागबन्डा, सहमति, गुटउपगुट मिलाउँदा मिलाउँदै सरकारको एक वर्ष यत्तिकै जान्थ्यो । देशको महत्त्वपूर्ण समय र स्रोतसाधन खर्च भएर पनि हुन सक्ने जति डेलिभरी नभएको त्यस्तै लोसे पाराले गर्दा पनि हो । गगनको कांग्रेस पनि यही ड्याङ्कै देखियो । यस्तो त कांग्रेसको नियमित स्वभाव हो । विशेषको ट्याग किन चाहियो र ?
केही प्रक्रिया, विधि र ईगोका प्रश्न त छन् नै, तर सरकारको स्पीड सराहनीय छ । विधि र प्रक्रियाबारे सचेत गराउने र जवाफदेही बनाउने काम त प्रतिपक्षको हो । सरकारलाई ढिलासुस्ती गर्न रोक्नुपर्ने दल आफै सबैभन्दा ढिलो भए पछि के होला ?
परिवर्तन भनेको अनुहार फेरेर आउने होइन, व्यवहार फेरेर आउने हो । त्यसका लागि गति र मति दुबै फेरिनु आवश्यक छ । बुढो भएको कांग्रेस नयाँ बनाउने भन्ने थियो, तर अल्छी खालको अधबैंशे मात्रै भयो, युवाचाहिँ भएन जस्तो देखियो ।

प्रतिक्रिया