काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पुल सिलान्यासका लागि दार्चुला पुगेका छन् । त्यहाँ पुग्दा उनले दार्चुलावासी अभाव र समस्याहरूको चाङ देखे । त्यहाँबाट काठमाडौँ फर्किने क्रममा उनले देखेका समस्यामा चाङका विषयमा सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन् । उनले त्यहाँ विद्युत, सडक, संचारको समस्या रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘जहाँ म पुगेँ त्यहाँबाट पालिका कार्यालय पुग्न ६ घण्टा हिँडेर जानु पर्ने रैछ । बाटोमा ढुङ्गा खस्ने जोखिम हुने रैछ भने जिल्लाको सदरमुकाम पुग्न १ देखि १.५ दिन । फोन नलाग्दो रैछ । बिजुली प्रसारण पनि रैन रैछ । स्वास्थ्य चौकी पुग्न ४ घण्टा हिँडेर जान पर्ने । बजार सदरमुकाममा मात्रै रैछ, जान १ दिन लाग्ने । विद्यालय आधारभुत तह सम्म रैछ । शिक्षक दरबन्दी पुग्दो रैन रैछ ।’
उनले त्यहाँ १५ जना सशस्त्र प्रहरी र ५–६ जना नेपाल प्रहरी देख्दा मात्रै त्यो नेपाल हो भन्ने आफूलाई अनुभव भएको बताएका छन् । उनले भनेका छन्, ‘१५ जना सशस्त्र प्रहरी र ५–६ जना नेपाल प्रहरी देख्दा मात्रै त्यो नेपाल हो भन्ने राज्यको उपस्थिति महसुस हुँदो रैछ ।’
उनले सुत्केरी बुहारीलाई औषधि किन्न भनी बजार गएका छोरा तुइन चुँडिएर महाकालीमा बिलाएको र कहिल्यै फर्केन भन्दै एउटी आमाले विलौना गर्दा भक्कानिएको हृदयमा गहिरो चोट लिएर आफू काठमाडौँ फर्किँदै गरेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘संसारको यस्तो कुना जहाँ सयौं वर्षदेखि मानिसहरु विकासको पर्खाइमा तुइनबाट खस्दै महाकालीमा बिलिन हुँदै जीवन जिइरहेका रैछन । घरै पिच्छे १ जना २ जना तुइन चुँडिएर महाकालीमा खसेका रैछन । सुत्केरी बुहारीलाई औषधि किन्न भनी बजार गएका छोरा तुइन चुँडिएर महाकालीमा बिलाए । कहिल्यै फर्केन भन्दै एउटी आमाले विलौना गर्दा भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कंदैछु आज । कहिल्यै घाम नलागेको तुसारोले छोपिएको पाखामा कठ्याङ्ग्रिएर घामको न्यायो खोजिरहेका ती आँखाहरुको सपना मैले पनि मेरो आँखामा सजाएर काठमाडौँ फर्किंदैछु आज । संसदको वैठकहरु अनि मेरा अनेकन जिम्मेवारीले गर्दा फर्कन बाध्य छु ।’
उनले यहाँका नागरिकको पीडामा मल्हम लगाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘त्यो ठाउँलाई सम्झदा जीवनभरि उतै बसेर गिट्टी कुटिरहूँ जस्तो लाग्ने । श्रमदान गरिरहूँ जस्तो… आजीवन । यो कुनै यात्रा थिएन मेरो लागि ! यो थियो एउटा पीडाबोध यथार्थको खोज । हराएका मेरा नेपाली दाजुभाइ दिदीबैनीलाई खोज्ने यात्रा ! श्रमदानको अभियानमार्फत अब हामी जोडिएका छौँ । पूर्व र पश्चिमलाई जोड्ने एउटा संकल्प । अब मैले भन्नु पर्ने र भनिरहनु पर्ने केही रहेन अब राज्यको आँखा त्यता दौडनु पर्छ । दार्चुला नेपालको अभिन्न र प्रमुख स्थानहरु मध्ये एक बन्नु पर्छ ।’

प्रतिक्रिया