काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले प्रतिनिधिसभाको पहिलो बैठकका नेपाली सेना, एल्गोरिदम, कर्मचारी, बारबरा फाउण्डेशनलगायतको सहयोगका कारण रास्वपाको यो परिणाम आएको बताएका थिए । त्यसपछि पार्टीको बैठक बसेर बादलको भनाईलाई सच्यायो पनि । तर फेरि बादलले पोखरामा गएर पार्टीको लाइनअनुसार नै बोलेको अभिव्यक्ति दिएका छन् ।
यसपछि एमालेमा विवाद बढेको छ । बादलले फेरि उही अभिव्यक्ति दोहोर्याएपछि एमालेका नेता सुरेन्द्र पाण्डे र उपमहासचिव योगेश भट्टराईले प्रतिवाद गरेका छन् । नेता सुरेन्द्र पाण्डेले माओवादी जनयुद्ध’ को भाष्य एमालेको आधिकारिक भाष्य नभएको बताएका छन् ।
सामाजिक संजालमार्फत उनले भनेका छन्, ‘राजनीतिमा वैचारिक स्पष्टता सबैभन्दा ठूलो शक्ति हो। नेकपा (एमाले) को आफ्नै गौरवशाली इतिहास, आफ्नै संघर्षको जग र आफ्नै मौलिक सिद्धान्त छ । हामीले स्पष्ट हुनुपर्छ – ‘माओवादी जनयुद्ध’ को भाष्य एमालेको आधिकारिक भाष्य होइन र हुन सक्दैन। एमालेको मूल बाटो ’जनताको बहुदलीय जनवाद’ (जबज) हो, जसले शान्तिपूर्ण प्रतिस्पर्धा, संवैधानिक सर्वोच्चता र जनताको मतलाई नै परिवर्तनको अन्तिम आधार मान्छ।’
पाण्डेले संसदमा वा सार्वजनिक मञ्चमा व्यक्त हुने व्यक्तिगत भावनाहरूलाई ’पार्टी लाइन’ भनेर व्याख्या गर्दा त्यसले कार्यकर्तामा भ्रम र जनतामा अविश्वास मात्र पैदा र्गे बताएका छन् । उनले भनेका छन्, ‘पार्टीभित्र विभिन्न पृष्ठभूमिबाट आउनुभएका साथीहरूको आफ्ना भोगाइ र बुझाइ हुन सक्छन्, तर जब हामी एमालेको झण्डामुनि गोलबद्ध हुन्छौं, तब हाम्रो बोली र व्यवहार पार्टीको दस्तावेजसँग मेल खानुपर्छ। संसदमा वा सार्वजनिक मञ्चमा व्यक्त हुने व्यक्तिगत भावनाहरूलाई ’पार्टी लाइन’ भनेर व्याख्या गर्दा त्यसले कार्यकर्तामा भ्रम र जनतामा अविश्वास मात्र पैदा गर्छ। त्यसमाथि, यस्ता अतिवादी र उग्र दृष्टिकोणहरूले हाम्रो पार्टीलाई समयको गतिसँगै अगाडि लैजानुको साटो झन् पछाडि धकेल्नेछन्।’
उनले आजको आवश्यकता विगतका द्वन्द्वकालीन बाटोहरूको गौरवगाथा गाउने नभएको बताएका छन् । उनले भनेका छन्, ‘आजको आवश्यकता विगतका द्वन्द्वकालीन बाटोहरूको गौरवगाथा गाउनु होइन, बरु शान्तिपूर्ण लोकतान्त्रिक पद्धतिबाटै मुलुकको आर्थिक रूपान्तरण कसरी गर्ने भन्नेमा केन्द्रित हुनु हो। एमालेलाई एमालेकै रूपमा मौलिक र सुदृढ राख्न हामीले आफ्नो वैचारिक धरातल कहिल्यै बिर्सनु हुँदैन।’
त्यसैगरी उपमहासचिव भट्टराईले व्यंग्यात्मक शैलीमा एउटा कविता नै लेखेका छन् । उनले कवितामा ‘बादल’, ‘जबज’ र ‘मदन’ शब्द समेत समेटेर उनले ‘हेरेको हेर्यै’ भएको टिप्पणी गरेका छन् ।
यस्तो भट्टराईको कविता
छोक( छोटकरी कविता)
बादल मडारियो
मुसलधारे वर्षा भयो
जबज निथ्रुक्कै भिज्यो
मदन तीन छक्क पर्नुभयो
हामी हेरेको हेर्यै भयौ !
( स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ)

प्रतिक्रिया