काठमाडौँ । परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’का सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र साह ‘बालेन’को नेतृत्वको सरकारका सबै मन्त्रीहरूलाई प्रस्तुति दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा सबै मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रस्तुति दिएको प्रधानमन्त्री साहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
सचिव राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्द्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत प्रस्तुति दिएका थिए ।
उनले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढंगले जानकारी गराए । नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षहरूलाई उनले विशेष जोड दिएका थिए ।
साथै, विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य विषयमा समेत मन्त्रीहरूबीच प्रस्तुति गरिएको थियो ।

प्रतिक्रिया