प्रतिपक्ष जतिसुकै सानो भएपनि आगोको झिल्को होः सांसद केसी


काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सत्तापक्षको सङ्ख्या जति नै धेरै भए पनि सदन विपक्षको हुनुपर्ने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद केसीले सदन सत्तापक्षको नभई विपक्षीको बनाएर सन्तुलन कायम राख्न सभामुखलाई सुझाव दिएका हुन् । उनले विपक्षलाई आगोको झिल्कोको संज्ञा दिँदै आगोको झिल्को सानो भए पनि झिल्को नै भएको बताए ।

उनले भने, ‘आगोको झिल्को जतिसुकै सानो भए पनि त्यो आगाकै झिल्को हुन्छ । सदनमा सत्तापक्ष जतिसुकै ठूलो भए पनि सदन विपक्षको हो ।’

उनले सदन कसैको बन्दी हुन नहुने भन्दै सदनलाई स्वतन्त्र भएर काम गर्ने वातावरण निर्माण गर्न सभामुखलाई आग्रह गरे । केसीले फरक–फरक बिचारबाट प्रतिनिधित्व गरे पनि सबै सांसदहरूको साझा उदेश्य मुलुकको समृद्धि रहेको बताए ।

उनले भने, ‘हामी सबै आ–आफ्नो दलप्रति प्रतिबद्ध छौं । तर, दल भन्दा राष्ट्रियता ठूलो हो । यसलाई कसरी संरक्षण गर्न सक्छौं । यसमा सम्पूर्ण रुपले एक हुनको निम्ति नयाँ इतिहास सुरु गर्नुपर्ने छ ।’ उनले संसदमा आकस्मिक समयमा समेत नाम टिपाउनुपर्ने जस्तो गलत अभ्यास परिवर्तन गर्नुपर्ने बताए ।

उनले भने, ‘आकस्मिक समयलाई पनि अगाडि गएर टिपाउनुपर्ने परम्परा सदनमा यसअघि स्थापित भएको छ, त्यो परिवर्तन हुनुपर्छ । आकस्मिक समय भनेको सांसदको विशेषाधिकार हो, प्रधानमन्त्री बोल्दाबोल्दै भए पनि हात उठाएर बोल्न पाउनुपर्छ ।’

लोकतन्त्र वाद–प्रतिवाद र संवादको प्रक्रिया भएको भन्दै उनले फरक–फरक विचारबीच कहिलेकाहीँ तिक्तता उत्पन्न भएपनि त्यसैबाट निस्कने सार नै लोकतन्त्रको सुन्दर पक्ष भएको बताए ।