काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुने दाबी गरेका छन् ।
सोमबार स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीहरूसँग भएको भेटमा अर्थमन्त्रीले नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकार गम्भीर रूपमा सुशासनका काममा केन्द्रित रहेको बताए । उनले भने, ‘नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनु छ, त्यसका लागि सुशासनका काम गर्नुपर्छ । जनमत पनि यही हो, हामी यसैमा केन्द्रित छौँ ।’
अर्थमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार निजी क्षेत्रविरोधी नभएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र रूपान्तरण गर्ने दिशामा काम भइरहेको बताए । ‘आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ,’ उनले भने,‘नेपालको अर्थतन्त्रका लागि अब स्वर्णिम समय आउँदैछ, हल्ला र गलत अफवाहको पछि नलागौँ ।’
उनले केही अनुसन्धान पुरानै भए पनि अहिले अन्तिम चरणमा पुगेका बताए । उनले अपराध गर्नेहरूलाई उन्मुक्ति नदिने तर कसैप्रति छानीछानी प्रतिशोध पनि नलिइने स्पष्ट पारे । साथै सरकार निजी क्षेत्रमैत्री रहेको दाबी गर्दै आफ्नो पहिलो निर्णयले नै त्यसको पुष्टि गर्ने उनको भनाइ थियो ।
शेयर बजारबारे पनि उनले सरकारको धारणा स्पष्ट पार्दै आफूहरूको पार्टी शेयर बजारप्रति उदार रहेको र घोषणापत्रमै स्पष्ट दृष्टिकोण राखिएको बताए । पछिल्लो समय बजारमा फैलाइएका अफवाहप्रति सचेत रहन उनले सबैलाई आग्रह गरे ।
भेटमा एसोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीलगायत प्रतिनिधिहरूले हाल बजारमा गलत हल्ला फैलाइएको भन्दै गुनासो गरेका थिए । उनीहरूले शेयर बेचेर बाहिरिएका तथा पुनः बजारमा प्रवेश गर्न खोज्ने केही समूहले साना लगानीकर्तालाई त्रसित बनाउने खालका अफवाह फैलाइरहेको बताए ।

प्रतिक्रिया