यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्छः कानुनमन्त्री गौतम


काठमाडौं । कानुनमन्त्री सोविता गौतमले यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दामाथि उठ्नैपर्ने बताएकी छिन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा सभामुख डीपी अर्यालको समर्थकको रुपमा भनाई राख्दै उनले संसदमा नयाँ उर्जासहित आएका सांसद र दिर्घ संसद अुनभव बोकेका अग्रजहरुको समिश्रणले संसदलाई अझ परिपक्क बनाउनतिर लैजान आवश्यक रहेको बताएकी हुन् ।

उनले भनिन्,‘यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दामाथि उठ्नैपर्छ । यो संसद जनताको मुद्दामा केन्द्रित हुनैपर्छ । समाधानोन्मुख र स्पष्टरुपमा परिणामुखी बन्नैपर्छ । नयाँ उर्जासहित आएका सांसद र दिर्घ संसद अुनभव बोकेका अग्रजहरुको पनि उपस्थिति छ । जसले मिलेर अझ यो संसदलाई परिपक्क बनाउनतिर लाग्नै पर्नेछ ।’

त्यस्तै उनले बहस केवल बहसमा मात्रै सीमित रह्यो भने जनताको विश्वास कमजोर हुँदै जाने भन्दै संसदमा स्वस्थ बहस आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘लोकतन्त्र केवल भाषण र बहसले मात्र ल्याउने होइन् । हाम्रा वहसहरुले ल्याउने परिणामले पनि अर्थपूर्ण छ कि छैन भन्ने कुराको सन्देश दिन्छ । त्यसैले स्वस्थ्य बहस आवश्यक छ । तर बहस केवल बहसमा मात्रै सीमित रह्यो भने जनताको विश्वास कमजोर हुँदै जान्छ । त्यसैले यस पटकको बहस अर्थपूर्ण उत्तरदायी र परिणाममुखी हुनुपर्छ ।’