काठमाडौँ । राष्ट्रिय महिला फुटबल टिमकी पूर्वकप्तान एन्जिला तुम्बापो सुब्बाले खेलाडीको रगत र पसिनालाई राजनीतिको साधन नबनाइदिन आग्रह गरेकी छन् ।
शुक्रबार सामाजिक संजालमार्फत एन्जिलाले १० वर्षको त्यो कडा मेहनतलाई स्वार्थ र राजनीतिले खरानी बनाएको बताएकी हुन् । उनले भनेकी छन्, ‘१० वर्ष एउटा दशक । एउटा खेलाडीले १० वर्षसम्म मैदानमा के मात्रै सहँदैन ? घाम, पानी, चोटपटक र अभाव । एउटा एउटा इँटा थपेर घर बनाए झैँ, नेपाली महिला फुटबल टोलीले आफ्नो साख र सफलता बनाएको थियो। तर आज ? १० वर्षको त्यो कडा मेहनतलाई खरानी बनाउन तपाईंहरूको स्वार्थ र राजनीतिलाई १० मिनेट पनि लागेन । अन्तर्राष्ट्रिय खेल खेल्न पाउनु एउटा खेलाडीको लागि एउटा पर्व जस्तै हो। एउटा सपनाको शिखर हो। तर जब अन्तिम समयमा आएर राजनीतिको फोहोरी खेलले गर्दा हाम्रो अवसर खोसिन्छ, तब त्यो पीडा कस्तो हुन्छ, के तपाईंहरूले कहिल्यै महसुस गर्नुभएको छ ? तपाईंहरू त केवल ‘न्यूज’ पढ्नुहुन्छ र ‘अफसोस’ मान्नुहुन्छ, तर मैदानमा ओर्लिन नपाउँदा एउटा खेलाडीको मन कति पटक मर्छ, त्यो हामीलाई मात्र थाहा छ।’
उनले नयाँ आउने बहिनीहरूले कुन सपना बोकेर मैदानमा आउने भन्दै प्रश्न गरेकी छन् । उनले भनेकी छन्, ‘आज तपाईंहरूले आफ्नो स्वार्थ जोगाउनु भयो होला, तर भोलि आउने पुस्तालाई के जवाफ दिनुहुन्छ? नयाँ आउने बहिनीहरूले कुन सपना बोकेर मैदानमा आउने? जब यहाँ खेलाडीको भविष्यमाथि नै खेलबाड हुन्छ भने, कसले आफ्नो जीवन फुटबलमा समर्पण गर्ने ? खेलाडीको रगत र पसिनालाई राजनीतिको साधन नबनाइदिनुस् । हामी देशको लागि खेल्न चाहन्छौँ, तपाईंहरूको अहङ्कारका लागि होइन। खेललाई खेल नै रहन दिनुस्, यसलाई राजनीतिको अखडा नबनाउनुस्।’
उनले व्यक्तिगत स्वार्थ र राजनीतिक खिचातानीले आज नेपाली महिला फुटबल र समग्र खेलाडीको भविष्य अन्धकारमा धकेलिएको उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्, ‘अन्तर्राष्ट्रिय खेल खेल्न नपाउनुको पीडा एउटा खेलाडीले मात्र बुझ्न सक्छ। व्यक्तिगत स्वार्थ र राजनीतिक खिचातानीले आज नेपाली महिला फुटबल र समग्र खेलाडीको भविष्य अन्धकारमा धकेलिएको छ। हामीलाई मैदान चाहिन्छ, राजनीति होइन। हाम्रो सपनामाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन । फुटबलको जिम्मेवार व्यक्तिले नबुझे कसले बुझ्ने ? धन्यवाद छ ती सबैलाई, जसले आफ्नो व्यक्तिगत स्वार्थलाई देश र खेलभन्दा माथि राखेर आज नेपाली फुटबललाई यो अवस्थामा पुर्याइदिनुभयो ।’

प्रतिक्रिया