‘आर्टिमिस २’ को इन्जिन परीक्षणपछि चन्द्रमातर्फको यात्रामा


बीबीसी । अमेरिकी अन्तरिक्ष संस्था नासाले प्रक्षेपण गरेको ‘आर्टिमिस २’ले इन्जिन परीक्षणको महत्त्वपूर्ण चरण पार गरेर चन्द्रमातर्फको यात्रा सुरु गरेको छ ।

अमेरिकाको फ्लोरिडाबाड उडेको २४ घण्टासम्म पृथ्वीको फन्को लगाएको यो यानले ‘इन्जिन बर्न’को चरण पार गरेर पृथ्वीको कक्षबाट चन्द्रमातर्फ अघि बढेको हो । चार जना अन्तरिक्षयात्री सवार ’ओरिअन’ क्याप्सुललाई चन्द्रमातर्फको यात्रामा धकेल्ने उक्त इन्जिन छ मिनेटभन्दा कम समयमै ‘बर्न’ भएको थियो।

नासाले अन्तरिक्षयात्रीहरूलाई पृथ्वीको कक्षबाट बाहिर धकेल्ने काम सफल भएको जनाएको छ । कुल १० दिनको यात्रामा अन्तरिक्षयात्रीहरूले अहिलेसम्मकै सबैभन्दा टाढाको मानव यात्रा तय गर्ने छन् ।

उनीहरूले २ लाख १९ हजार ६३९ नटिकल माइल यात्रा तय गर्ने आकलन गरिएको छ । यसअघि सन् १९७० मा ‘अपोलो’ मिशनका १३ जना अन्तरिक्षयात्रीहरूले २ लाख १७ हजार नटिकल माइल यात्रा तय गरेका थिए। ‘अपोलो’ मिशनहरूमा मानिसले चन्द्रमामा पाइला टेकेका थिए ।

‘ओरिअन’का व्यवस्थापक होवार्ड हूले हालसम्मको मिशन ‘उत्तम रूपमा उकालो’ लागिरहेको बताएका छन्। उनले पछिल्लो २४ घण्टा आफू राम्रोसँग सुत्न पनि नपाएको बताए। क्यानडेली चालकदलका सदस्य जेरमी ह्यान्सनले आफू र आफ्ना सहयात्रीहरूले ठिकठाक अनुभव गरेको बताएका छन् ।

इन्जिन ‘बर्न’ भएपछि प्रतिक्रिया दिँदै उनले मानिसहरूले पुनः एक पटक आफ्नो क्षमता प्रदर्शन गरेको बताए । ‘ओरिअन’ अमेरिकी समय अनुसार सोमवार चन्द्रमा नजिक पुग्ने छ। त्यसभन्दा पनि केही परसम्म पुगेर यसले आफ्नो फिर्ती यात्रा तय गर्ने छ । उनीहरू एप्रिल १० मा प्रशान्त महासागरमा अवतरण गर्ने छन्।