सम्भवतः दुई वा तीन हप्ताभित्र इरानविरुद्धको सैन्य अभियानबाट फर्किन्छौँः राष्ट्रपति ट्रम्प


रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानविरुद्धको सैन्य अभियान दुईदेखि तीन हप्ताभित्र अन्त्य हुन सक्ने बताएका छन् ।

उनले युद्ध अन्त्यका लागि तेहरानले अनिवार्य रूपमा कुनै सम्झौता गर्नुपर्ने आवश्यकता नभएको पनि स्पष्ट पारे । मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,’हामी छिट्टै फर्किनेछौँ, सम्भवतः दुई वा तीन हप्ताभित्र ।’

उनले अमेरिकी सैन्य अभियान अन्त्य गर्न इरानसँग कूटनीतिक सम्झौता अपरिहार्य नरहेको बताए । यसअघि वासिङ्टनले इरानले १५ बुँदे युद्धविराम प्रस्ताव स्वीकार नगरे सैन्य कारबाही तीव्र बनाउने चेतावनी दिएको थियो । प्रस्तावमा इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता, युरेनियम संवद्र्धन रोक्ने र स्ट्रेट अफ होर्मुज पुनः पूर्ण रूपमा खोल्ने माग समावेश थियो ।

अमेरिकी रक्षा मन्त्री मार्को रोकियोले भने युद्ध अन्त्यका लागि ट्रम्प इरानसँग सम्झौता गर्न तयार रहेको बताएका छन् । पाँचौँ हप्तामा पुगेको यस युद्धले हजारौँको ज्यान लिएको, क्षेत्रीय अस्थिरता बढाएको र विश्व अर्थतन्त्रमा असर पारेको छ ।

रिपोर्टअनुसार युएईले अमेरिका र उसका सहयोगीसँग मिलेर स्ट्रेट अफ होर्मुज बलपूर्वक खोल्ने तयारी गरिरहेको छ। उक्त जलमार्गबाट विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुँदै आएको छ।
यसैबीच, इरानका विदेशमन्त्रीले अमेरिकी विशेष दूतबाट सन्देश आदानप्रदान भइरहे पनि औपचारिक वार्ता नभएको बताएका छन् ।

इरानी रिभोल्युसनरी गाड्र्सले खाडी क्षेत्रका अमेरिकी कम्पनीहरूलाई लक्षित गर्ने चेतावनी दिएको छ। यता अमेरिकी विदेशमन्त्रीले बेलायत जस्ता सहयोगी मुलुकहरूले पर्याप्त साथ नदिएको भन्दै आलोचना गरेका छन् ।