आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ख९९७५ नम्बरको बस तामाकोशीमा खसेको प्रहरीले बताएको छ । रामेछापमा दुर्घटना भएको बसमा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको लागि छुटेकाे बस तामाकाेशी नदीमा खसेकाे थियो ।
दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्याइएका पाँच जनाको मृत्यु भएको रामेछापका प्रजिअ श्यामकृष्ण थापाले बताए । दुर्घटनास्थबाट उद्धार गरिएका १३ जनामध्ये गम्भीर घाइते भएका ५ जनाको मृत्यु भएको प्रजिअ थापाले बताए । उद्धार गरेकाहरुलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ । घाइतेहरूकाे उपचार भइरहेको छ ।
अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बसमा चालक, सहचालक, बस व्यवसायी ३ जना र बाटोबाट चढेका गरी १३ यात्रु रहेको खुलेको छ । बाटोबाट अन्य थप यात्रु चढेनचढेको खुलेको छैन ।
सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ । सडकबाट खसेको बस नदीमा डुबेको छ । अन्य यात्रुहरुको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया