काठमाडौं । नेपालका विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इन्जिनियरिङ कलेजहरूको छाता संस्था एशोसियसन अफ इन्जिनियरिङ कलेजेज अफ नेपाल (AECoN) को साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार सम्पन्न सभाले सभापतिमा अक्सफोर्ड कलेजका हरि भण्डारी, उपसभापतिमा हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजका तोय नारायण पौडेल, सचिवमा कान्तिपुर इन्टरनेशनल कलेजका नवराज पोख्रेल तथा कोषाध्यक्षमा ललितपुर इन्जिनियरिङ कलेजका ललन तिवारीलाई निर्वाचित गरेको हो ।
त्यसैगरी कार्यसमिति सदस्यमा युनिभर्सल कलेजका मन्दिप सुवेदी, नेशनल कलेजका धनप्रसाद पौडेल, हिमालयन कलेजका किशोर गौतम, एभरेष्ट इन्जिनियरिङ कलेजका अरुण कुमार भण्डारी र कलेज अफ आइटी एण्ड इन्जिनियरिङका सरोज दाहाल चयन भएका छन् ।
उपसभापति पौडेलले नेपालमा इन्जिनियरिङ अध्ययनसम्बन्धी विषयमा विद्यार्थी तथा अभिभावकलाई स्पष्ट जानकारी दिनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले भने, ‘नेपालको इन्जिनियरिङ शिक्षाको अवस्था, विश्वविद्यालयहरूबीच देखिएको दूरी घटाउने, विश्वविद्यालय र कलेजहरूबीच समन्वय अभिवृद्धि गर्ने, इन्जिनियरिङ कलेज र विद्यार्थी तथा अभिभावकबीचको दूरी घटाउने तथा शुल्क लगायतमा देखिएका चुनौतीलाई सामूहिक रूपमा सम्बोधन गर्नुपर्ने भएको छ ।’
एकोन इन्जिनियरिङ कलेजहरूको नीतिगत तथा संस्थागत हकहितका लागि स्थापित संस्था हो । संस्थाले हालसम्म विभिन्न शैक्षिक, नीतिगत तथा समन्वयात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया