स्मार्ट बोर्डमार्फत प्रत्यक्ष कक्षालाई राष्ट्रिय मोडेल बनाउन न्यौपानेको शिक्षामन्त्रीसमक्ष माग


काठमाडौँ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षा विस्तार गर्दै ग्रामीण-सहरी शिक्षाकाे असमानता घटाउने उद्देश्यले वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेले अघि बढाएको स्मार्ट कक्षा अभियानले राष्ट्रिय तहमा चासो र समर्थन पाउन थालेको छ। इन्जिनियर न्यौपानेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनलाई ६ बुँदे ज्ञापनपत्र बुझाउँदै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड, डिजिटल शैक्षिक सामग्री र प्रत्यक्ष कक्षा प्रणालीलाई नीतिगत रूपमा विस्तार गर्न माग गरेका छन्।

शिक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रममा ज्ञापनपत्र बुझाउँदै न्यौपानेले सीमित स्रोतसाधन भएका ग्रामीण विद्यालयमा पनि राजधानीसरहको गुणस्तरीय शिक्षा पुर्‍याउन सकिने सम्भावना आफूले व्यवहारमा प्रमाणित गरिसकेको बताए । उनका अनुसार निजी पहलमा तनहुँ जिल्लाका १४ वटा र कास्की जिल्लाको सिक्लेसस्थित एउटा गरी १५ वटा सामुदायिक विद्यालयका कक्षा १० मा शैक्षिक सामग्रीसहितका स्मार्ट बोर्ड जडान गरी पढाइ सुरु गरिएको छ ।

काठमाडौंको कलंकीस्थित एलआरआइ विद्यालयको कक्षा कोठाबाट तनहुँको थर्पुस्थित मीन माध्यमिक विद्यालयमा प्रत्यक्ष कक्षा सञ्चालन गरिएको परीक्षण सफल भएपछि राजधानीका अनुभवी शिक्षकबाट ग्रामीण विद्यार्थीले प्रत्यक्ष रूपमा पढ्न पाउने व्यवस्था सम्भव भएको न्यौपानेले दाबि गरे । यसले ग्रामीण र शहरी विद्यालयबीचको शैक्षिक असमानता घटाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

ज्ञापनपत्रमा काठमाडौंका प्रतिष्ठित विद्यालय, बुढानीलकण्ठ लगायतमा भइरहेको गुणस्तरीय कक्षालाई स्मार्ट बाेर्डकाे माध्यमबाट प्रत्यक्ष रुपमा देशभरका ग्रामीण तथा दुर्गम सामुदायिक विद्यालयसँग जोड्नुपर्ने माग राखिएकाे छ । पाठ्यक्रमअनुसारका डिजिटल शैक्षिक सामग्री तयार गरी सामुदायिक विद्यालयलाई पुस्तकको विकल्पका रूपमा स्मार्ट बोर्डमार्फत निःशुल्क उपलब्ध गराउनुपर्ने, स्मार्ट बोर्ड, इन्टरनेट र शिक्षक तालिमसहितको ‘स्मार्ट कक्षा कार्यक्रम’लाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने माग गरिएको छ। साथै संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्यको मोडेलमा यो कार्यक्रम विकास गर्नुपर्ने र कक्षा १० का लागि राष्ट्रिय पाइलट शैक्षिक मोडेल निर्माण गर्नुपर्ने प्रस्ताव समेत राखिएको छ।

ज्ञापनपत्र बुझ्दै शिक्षा मन्त्री महाविर पुनले इन्जिनियर न्यौपानेको पहलको सराहना गर्दै शिक्षा सुधारका लागि यस्ता नवप्रवर्तनात्मक प्रयासमा सबैले हातेमालो गर्नुपर्ने बताए। उनले ज्ञापनपत्रमा उल्लेख गरिएका बुँदा र अभियानलाई मन्त्रालयका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उक्त कार्यक्रममा मन्त्रालयका सचिव तथा अधिकारीहरूका साथै तनहुँको थर्पुस्थित मीन माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारी, दुलेगौंडाको पञ्चमुनिदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक एकनारायण भण्डारी, ढोरफिर्दीस्थित गाउँ फर्कोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक विमल प्रसाद सिग्देल लगायतको उपस्थिति रहेको थियो । प्रधानाध्यापकहरूले स्मार्ट बोर्ड र डिजिटल शैक्षिक सामग्री प्रयोगमा आएपछि विद्यार्थीको रुचि, सहभागिता र सिकाइ क्षमतामा सकारात्मक परिवर्तन देखिएको बताएका छन्।

तनहुँ र कास्कीका ग्रामीण विद्यालयमा स्मार्ट बोर्ड जडान गरी काठमाडौंका प्रख्यात विद्यालयबाट प्रत्यक्ष कक्षा सञ्चालन गरिएको यो अभियानलाई नेपालमै पहिलो प्रयासका रूपमा लिइएको छ। पाँच वर्षभित्र तनहुँ जिल्लाका सबै सामुदायिक विद्यालयका कक्षा १० लाई स्मार्ट बोर्डयुक्त बनाउने लक्ष्यसहित अघि बढाइएको यस अभियानले सामुदायिक विद्यालयको शिक्षालाई आधुनिक, प्रविधिमैत्री र समान पहुँचयुक्त बनाउने दिशामा महत्वपूर्ण आधार तयार गरेको सरोकारवालाहरूको भनाइ छ।