कोशीले विनाश होइन, समृद्धिको अथाह सम्भावना बोकेको छ


वर्षौंदेखि बाढी, कटान र विस्थापनले त्रसित बनाउँदै आएको भनिएको सप्तकोशी नदी पछिल्ला समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ। कोशी किनारमा पर्यटकीय सम्भावनाको पहिचान गरेका राम सुन्दर बकेका अनुसार स्थानीय व्यवसायी, स्थानीय तह र समुदायको सहकार्यमा अबको कोशी ‘विनाशको होइन, विकास र सम्भावनाको नदी’ बन्न थालेको छ।
उनका अनुसार कोशीलाई पर्यटनको केन्द्रबिन्दु बनाउने लक्ष्यसहित स्थानीयसँग गरिएको निरन्तर संवाद र पहलकदमीले अहिले कोशी किनारमा ठूलो परिवर्तन ल्याएको छ। ’पहिले कोशी सुनेपछि बाढी र विनाशको सम्झना मात्र आउने गथ्र्यो, तर सही प्रयोग र सोचले यही नदी अवसरको स्रोत बन्न सकेको छ,’ बकेले बताए ।

बराह क्षेत्र–सुसौलीघाट आसपासको भूभागमा पछिल्लो समय सूर्यास्त अवलोकन गर्न दैनिक ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । प्राकृतिक दृश्यावलोकनसँगै सिसौलीघाट–बोराबाँध क्षेत्रमा सञ्चालनमा आएको मोटरबोट सेवा पनि तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ। स्थानीय व्यवसायीका अनुसार बगर क्षेत्रमा स्थानीय परिकार तथा साना किराना पसल सञ्चालनमा आएपछि दैनिक व्यापार उल्लेख्य रूपमा वृद्धि भएको छ ।

पर्यटन चहलपहल बढेसँगै बगर तथा खेतका भूभागमा बसोबास गर्ने परिवारहरूले साना होटल, देखि स्थानीय खाद्य व्यवसाय, हस्तकला तथा अन्य सेवा व्यवसाय सञ्चालन गर्न थालेका छन् । स्थानीयवासीले विदेशमा रहेका परिवारका सदस्यलाई ‘अब गाउँमै राम्रो कमाइ सम्भव छ’ भन्दै फर्किन आग्रह गर्ने गरेको समेत बताइएको छ । ’पहिले उत्पादन नहुने खेत र बगरमा आज पर्यटकको भीड लाग्छ, दिनमै राम्रो आम्दानी हुन्छ,’ एक स्थानीयले बताए ।

पर्यटन सम्भावना पहिचानपछि बकेले पालिका प्रमुख, कार्यकारी प्रमुख तथा वडा अध्यक्ष कपिल आर्चायसहित स्थानीय तहसँग निरन्तर संवाद गरेका थिए । उनका अनुसार पालिका नेतृत्वले आवश्यक जग्गा पहिचान तथा सहकार्यमा सकारात्मक भूमिका खेलेपछि परियोजनाका कार्य अघि बढ्न सकेको हो ।

पूर्वमा प्रायः सुनसान रहने कोशी किनार अहिले मनोरञ्जनस्थलमा परिणत भएको छ। भारतको गोवाको झल्को दिने गरि कोशीको किनारमा सूर्यको अस्ताउँदो दृश्यसँगसँगै फोटो खिच्ने, समूहगत भ्रमण, स्थानीय भोजन चाख्ने जस्ता कुराका लागि पर्यटकहरूको अत्याधिक उपस्थिति देखिन थालेको छ। माछा मार्ने ‘माझी दाइ’देखि खेतपाती गरेर बसेका आमाबुबासम्मका सबैले अहिले पर्यटनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिन थालिसकेको बकेले बताए ।

स्थानीय समुदाय, व्यवसायी र परियोजना पहलकर्ताले अब सरकारले सप्तकोशीलाई औपचारिक रूपमा पर्यटन क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। साथै पूर्वाधार विकास, सरसफाइ व्यवस्थापन, आतिथ्य सत्कार तालिम तथा पर्यटन व्यवसायसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन् ।

स्थानीयहरूको समस्याको स्रोत रहेको कोशी अहिले रोजगारी, आयस्रोत र अवसरको मुहान बन्दै गएको छ । पहिले बाढीले डुबाउने बगरमा आज पर्यटकका पाइलाले स्थानीयको सुन्दर भविष्य कोरिरहेको देखिन थालेको छ । ‘कोशीलाई बुझेर उपयोग गरियो भने दुःख होइन विकास दिन सक्छ’, बकेले बताए ।