बालेनलाई कारबाही गर्न माग गर्दै साइबर ब्युरोमा युवा संघको उजुरी


काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ ।

मेयर साहले लेखेको फेसबुक स्टाटसलाई लिएर संघका उपाध्यक्ष महाराज गुरुङसहितका युवा संघका नेता कार्यकर्ता पुगेर ब्युरोमा बिहीबार उजुरी दिएका हुन् ।

मेयर साहको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र मित्रराष्ट्रहरूलाई समेत अपमानित गरेको भन्दै युवा संघले मेयर साहविरुद्ध विद्युतीय अपराधअन्तर्गत कारबाही गर्न माग गरेको छ ।

मेयर साहले केही दिनअघि अश्लील शब्द प्रयोग गर्दै गालीगलौजयुक्त फेसबुक स्टाटस लेखेका थिए । स्टाटसको सर्वत्र विरोध भएपछि उनले केहीबेरमै त्यो स्टाटस हटाएका थिए ।