काठमाडौं । जेनजी अभियन्ता एवं हामी नेपाल संस्थाका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् ।
बिहीबार सामाजिक संजालमार्फत गुरूङले देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही गर’ सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान भएको बताएका हुन् ।
उनले गृहमन्त्रीलाई जनताको विश्वास तोडेको आरोप लगाउँदै तत्काल जिम्मेवारी त्याग्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश ! तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन । देशभरबाट ‘हत्यारालाई कारबाही गर’ ‘भ्रष्टाचारीलाई कारबाही’ गर भन्ने आवाज उठ्दा ‘जेन्जीलाई कारबाही’ गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो । सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् । काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस् । ओमप्रकाश अर्यालज्यू, अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हतियारालाई ।’
उनले अब गृहमन्त्रीबाट आशा मरिसकेको बताएका छन् । उनले भनेका छन्, ‘अहिलेसम्म के हुन्छ कि भनेर देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमानदेखि चरित्र हत्या समेत सहेर बसें । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिन्न किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन् एकदिन र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईंबाट आशा मरिसकेको छ । ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो । नेपाली जनता र जिन्जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन।’

प्रतिक्रिया