काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशनका बहसमा पार्टीका सबै साथीहरूलाई सक्रिय सहभागिताको लागि आग्रह गरेका छन् । बुधबार राति सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘तपाईंहरूको साथ अपरिहार्य छ। साथै, अन्य नौजवान साथीहरूलाई पनि अनुरोध गर्दछु कांग्रेससँग प्रत्यक्ष सम्बन्ध नभए पनि यसको सुधारको यात्रामा तपाईंहरूको समर्थनले नयाँ ऊर्जा र बल प्रदान गर्नेछ।’
उनले जेनजी आन्दोलनकाबारेमा आत्मसमीक्षा गर्नुपर्ने हो कि होइन भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘हामी संसदको पहिलो पार्टी थियौं । तर अहिले हामी न प्रतिपक्ष रह्यौं न सत्तापक्ष । अहिले सडकमा आइपुगेका छौं । अहिले यत्रो विश्वासको संकट छ । हामी कहाँ चुक्यौं ? के नगर्नुपर्ने कुरा गर्यौं ? भनेर समीक्षा गर्नुपर्ने होइन ?’
जेनजी आन्दोलनको माग भनेको नेपालभरका संस्था सुध्रिनु रहेको भन्दै त्यसमा ध्यान दिनुपर्ने बताए । उनले भने,‘आन्दोलनको एउटा विषयमा भनेको नेपालका तमाम संस्था प्रहरी,अदालत, प्रशासन सबै कुरा सुध्रियोस भनेको न हो । सुध्रनु पर्ने कुराको मुख्य त पार्टी हो नि । हामी नसुध्रिकन हामी तपाइँहरुसँग कुममा कुम मिलाउन आयौं भने त्यो नाटक मात्र हुन्छ ।’
उनले कांग्रेसको महाधिवेशन पार्टीसँग सम्बधित मात्र नभई जेनजी आन्दोलनसँग पनि जोडिएको बताए । व्यक्तिगत र पार्टीगत स्वार्थ भन्दा माथि उठेर हेर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया